• Monday 5th of October 2026

भीरबाट खसेर घाइते प्रकाश अभिनयमा फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौँ । घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे स्वास्थ्य लाभपछि काममा फर्किएका छन् । आइतबार उनले बुढानिलकण्ठस्थित मह स्टुडियोमा ‘महाजात्रा’को छायांकन सेट ज्वाइन गरे ।

डेढमहिनापछि सुटिङमा फर्किँदा उनी खुशि देखिए । ‘जात्रा’को पहिलो श्रृंखलादेखि नै उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन् । ‘चिकित्सकको सल्लाह अनुसार आराम र काम गरिरहेको छु’, अभिनेता घिमिरेले भने ।

शुक्रबार छोरीसहित पोखरादेखि काठमाडौंबाट उनलाई फिल्म निर्माताले शनिबार आराम गर्न भनेका थिए । सोहीअनुसार उनी आइतबारदेखि काममा फर्किए ।

निर्माता म्याक्स दीपेश खत्रीले घिमिरेलाई छायाङ्कनस्थलमा देख्दा सबैको मुहारमा खुशी छाएको बताए । ‘उहाँ स्वास्थ्यलाभ गरेर फर्किनु हुन्छ भन्नेमा हामी विश्वस्त थियौँ । त्यसैले उहाँको दृश्य बाँकी राखेर अन्य भागको छायांकन गर्‍यौं । उहाँलाई नित्य काममा देख्न पाउँदा खुसी लागेको छ’, उनले भने ।

उनले घिमिरेको सबै दृश्यको सुटिङ सक्ने बताए । अहिले घिमिरे र हरिवंश आचार्यको भागको दृश्य छायांकन सुरु भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँसँगै तराईको भूभाग समेत गरिने छ ।

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भईरहेको फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको पनि अभिनय समावेश छ ।

फिल्मको प्रदर्शन मिति चैत ९ गतेलाई तय गरिएको छ । प्रकाश घिमिरेको कुरा गर्दा, ‘महाजात्रा’को छायांकन सकिए लगत्तै उनी रामबाबु गुरुङको ‘डिग्री माइला’मा ब्यस्त हुनेछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖