राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्ष पदमा छन् सिबी गहतराज अर्थात् चरी बहादुर गहतराज । ख्रीष्टियन धर्मावलम्बीहरुको नेपाल प्रमुख रहेका गहतराज भने पटकपटक विवादमा पर्ने गरेका छन् । कहिले आर्थिक लेनदेन विवाद त कहिले आफ्नै संस्थाभित्र भ्रष्टाचार भएको भन्दै उनकै सहपाठीहरुले विरोध गरिरहेका छन् । उनै गहतराज अहिले नक्कली सर्टिफिकेट प्रकरणमा जोडिएका छन् ।
धर्मगुरु सिबी गहतराजले कुनै समय महान अभियान भन्ने पत्रिकासमेत चलाएका थिए । उनी आफैँ सम्पादक रहेको उक्त पत्रिका दर्ता गर्ने समयमा गहतराजले जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र सूचना विभागमा कागजातहरु पेस गरे । यस क्रममा उनले ब्याचलर लेभलको सर्टिफिकेट पेस गर्नुपर्ने हुन्थ्यो । पत्रिका दर्ता गरी आफैँ सम्पादक बन्न गहतराजले ब्याचलरको ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट आदि पेस गरेका थिए । उक्त सर्टिफिकेटको वैधानिकताको विषयमा कसैलाई केही जानकारी थिएन ।
तर केही समय अगाडि सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय लगायतमा एउटा उजुरी पर्यो– सिबी गहतराजले ८ कक्षामात्रै पढेका हुन् र उनले पेस गरेको सर्टिफिकेटहरु नक्कली हुन् ।
त्यसपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचना विभागबाट गहतराजले पेस गरेको कागजातको प्रतिलिपि मगायो । विभागबाट कागजात आएपछि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयमा पत्र लेखेर ती सर्टिफिकेटको आधिकारिकता जाँचका लागि पठायो ।
यो ट्रान्सक्रिप्ट अनुसार गहतराजले सन् १९९७ मा चावहिलको पुशपति बहुमुखी क्याम्पसबाट सोसल साइन्समा ६१ दशमलब ६४ प्रतिशत ल्याएर स्नातक उत्तीर्ण गरेको उल्लेख छ । ट्रान्सक्रिप्टको रजिष्ट्रेसन नम्बरमा ५–०१–१४–०२६–१९९४ उल्लेख छ ।
सोही ट्रान्सक्रिप्टका आधारमा गहतराजले माइग्रेसन सर्टिफिकेट पनि बनाएको पाइएको छ । गहतराजले त्रिभुवन विश्वविद्यालयबाट सिरियल नम्बर ४१७९, मेमो नम्बर ३४२÷११९ मा रजिष्ट्रेसन नम्बर ५–०१–१४–०२६–१९९४ उल्लेख रहेको माइग्रेसन सर्टिफिकेट बनाएका थिए ।
तर गहतराजले पेस गरेको सर्टिफिकेट र माइग्रेसन नक्कली रहेको उजुरी सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा पुगेपछि मन्त्रालयले विभागलाई पत्र नै लेखेर छानबिन गर्न भन्यो ।
मन्त्रालयको पत्रलगत्तै विभागले त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेर सर्टिफिकेटहरुको आधिकारिकता जाँचका लागि अनुरोध गर्यो । सूचना विभागको पत्रको आधारमा त्रिभुवन विश्वविद्यालयले आधिकारिकता जाँच गर्दा ती सर्टिफिकेट ‘फेक’ भएको भन्दै पत्र पठायो । त्रिभुवन विश्वविद्यालयका परीक्षा प्रशासन महाशाखा प्रमुख भोजराज भट्टद्वारा जारी भएको पत्र सङ्ख्या ९५।०८०।०८१ को पत्र अनुसार चरी बहादुर गहतराजको नाममा रहेको भनी पेस भएको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल सर्टिफिकेट कार्यालयको रेकर्डसँग मेल नखाएको अर्थात् फेक रहेको भन्ने जानकारी दिइएको छ ।
गत भदौ २७ गते त्रिभुवन विश्वविद्यालयले पठाएको पत्रमा भनिएको छ, ‘चरी बहादुर गहतराज रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) को स्नातक डिग्रीको ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल सर्टिफिकेट यस कार्यालयको रेकर्ड भिडाइ हेर्दा उक्त ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल सर्टिफिकेट यस कार्यालयको अभिलेखमा मेल नखाएको (फेक) भनी सम्बन्धित शाखाबाट लेखी आएको ब्यहोरा अनुरोध गर्दछु ।’
त्रिभुवन विश्वविद्यालयले गहतराजले पेस गरेको सर्टिफिकेटहरु नक्कली रहेको भनी जानकारी गराएपछि सूचना तथा प्रसारण विभागले पनि सोही व्यहोराको पत्र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई लेखी पठाएको थियो । त्यसपछि सञ्चार मन्त्रालयले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा लेखी पठाउनु पर्नेमा सञ्चार मन्त्रालयले सो सम्बन्धमा हालसम्म कुनै काम कारवाही गरेको छैन । सञ्चार मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले भने यस सम्बन्धमा बुझेरमात्रै बताउन सक्ने र आफू स्टाफ कलेजको कार्यक्रममा रहेकाले थप जानकारी नभएको बताए ।
संस्थामा भ्रष्टाचार र अपारदर्शिता भएको भन्दै गहतराज बर्खास्त
त्यसो त राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गत साउन महिनामै गहतराजलाई अध्यक्ष पदबाट बर्खास्त गरेको थियो । महासंघको साउन ३ गते बसेको बैठकले गहतराजलाई अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । अचम्म त के छ भने अध्यक्ष गहतराज आफैँ उक्त बैठकमा सहभागी भएका थिए । गहतराजले तत्कालीन समयमा आफूलाई १५ दिनको समय उपलब्ध गराउन माग गर्दै त्यसपछि सम्मानजनक बहिर्गमनमा जाने बताएका थिए । तर भदौ महिना लागेपछि भने गहतराजले आफू किन बाहिरिने भन्दै निहु खोजेपछि संस्थाकै सदस्यहरुले गहतराजको नक्कली सर्टिफिकेटको विषय बाहिर ल्याएका थिए ।
साउन २३ गतेको बैठकको निर्णय भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सार्वजनिक सूचना नै जारी गरेको थियो ।
सूचनामा भनिएको छ–
‘राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको मिति २०८०।४।३ को विशेष केन्द्रीय समितिको निर्णयानुसार महासंघ तथा समुदायको हित विपरीत कार्य गरेकोले यस महासंघको अध्यक्ष पदबाट श्री चरी बहादुर गहतराज (सी.बी. गहतराज) लाई बर्खास्त गरेको हुँदा सर्वसाधारण, सरकारी निकाय, कूटनीतिक नियोग तथा दातृ संस्थाहरु र आमदेशवासीहरुका लागि जानकारीको लागि सूचना जारी गरिएको छ । अब उप्रान्त निज चरी बहादुर गहतराजसँग राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको कुनै पनि सरोकार, सम्बन्ध नरहेको हँदा निजसँग कुनै पनि काम कारवाही, पत्राचार लगायतका संस्थागत कार्यहरु नगर्न नगराउन हुन जानकारी गराउँदछौँ ।’
ख्रीष्टियन महासंघको विशेष केन्द्रीय समितिको बैठकमा ३० जना केन्द्रीय सदस्यको बहुमतले गहतराजलाई हटाइएको थियो । तर पनि गहतराज सो निर्णय मान्न तयार नभइ त्यसपछि चयन गरिएका कार्यवाहक अध्यक्ष र भूतपूर्व महासचिवमाथि हातपात समेत गरेका थिए । कार्यालयमै भाडाका गुण्डाहरु लगेर कुटपिटको कोसिस भएपछि गहतराजको आलोचनासमेत भएको थियो ।
महासंघकै एक सदस्यका अनुसार महासंघमा विभिन्न दातृ निकायबाट आएको सहयोग रकमलाई आफूखुसी उपभोग र परिचालन गर्नका लागि गहतराज बर्खास्त हुँदा पनि गुण्डा प्रयोग गरेर संस्थामा बसिरहेका छन् ।
गहतराज भन्छन्– सर्टिफिकेटको विषयमा समय आएपछि बताउँछु
नक्कली सर्टिफिकेट र बर्खास्तीका विषयमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष (बर्खास्त) चरी बहादुर गहतराजसँग कुरा गर्दा उनले यी सबै कुरा वाहियात भएको र आफूलाई बर्खास्त गर्न सक्ने अधिकार कसैसँग नरहेको बताए ।
बर्खास्तीका सम्बन्धमा कुरा गर्दै गहतराजले आफूलाई बर्खास्त गर्ने निर्णय भएको भनिएको बैठकमा आफू उपस्थित नभएको र आफूलाई बर्खास्त गर्ने अधिकार अदालत, जिल्ला प्रशासन कार्यालय र विशेष महाधिवेशनलाई मात्रै रहेको बताए ।
गहतराजले रातोपाटीसँग भने, ‘निर्वाचित अध्यक्षलाई बर्खास्त गर्ने अधिकार अदालत वा सीडीओ कार्यालयलाई रहन्छ । अर्को भनेको विशेष महाधिवेशन बोलाएको अवस्थामा त्यस्तो महाधिवेशनले गर्न सक्छ । तर कसैले कार्यालयको माइन्युट चोरेर गरेको निर्णय निर्णय हुन सक्दैन, म अहिले पनि अध्यक्ष पदमै छु ।’
सर्टिफिकेटको विषय के हो भन्ने प्रश्नमा गहतराजले बाहिर कस्तो सर्टिफिकेट आएको छ, त्यो थाहा नभएको बताउँदै आफूसँग सक्कली सर्टिफिकेट रहेको बताए ।
तपाईंले पशुपति क्याम्पसबाट १९९७ मा फस्र्ट डिभिजनमा ब्याचलर पास गर्नुभएको हो भन्ने प्रश्नमा उनले विषयान्तर गर्दै भने, ‘अहिले विरोधीहरुले बाहिर ल्याएको सर्टिफिकेटको विषय झुट हो । सर्टिफिकेटको विषयमा म समय आएपछि बताउँछु ।’
सूचना विभागमा पेस गरेको सर्टिफिकेट के हो त भन्ने रातोपाटीको प्रश्नमा आफूले १५–१६ वर्ष पहिले दर्ता गरेको र त्यहाँ कुन सर्टिफिकेट राखेँ भन्ने याद नभएको बताए ।
‘तपाईंसँग धेरै सर्टिफिकेट छन् हो ?’ भन्ने प्रश्नमा उनले एसएलसी वा कुन सर्टिफिकेट राखेँ भन्ने याद नभएको बताए । सर्टिफिकेटको विषयमा समय आएपछि बताउने भन्दै त्यस प्रश्नबाट उनी पन्छिए । -रातोपाटी
