पोखराको जिएमसी कलेजमा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा मृत्यु भएको छ । पोखरा-२६ स्थित सुन्दर बजार क्षेत्रको सडकमा कारसँग स्कुटर ठक्कर खाँदा बीबीएस (ब्याचलर इन डेन्टल सर्जन) चौथो वर्षमा अध्ययन गर्दै गरेका विद्यार्थीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखरा २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५,जिरो बस्ने २४ वर्षीया भावना बराल रहेको कास्की प्रहरीले जनाएको छ ।
पोखराबाट तालचोकतर्फ जाँदै गरेको बि एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दिउँसो सवा ४ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका अनिशा र भावनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अनिशालाई अस्पताल लग्नेबित्तिकै ४ः३९ बजे मृत घोषण गरिएको थियो ।
भावनालाई पौने ६ बजे चरक अस्पताल रेफर गरिएकोमा सवा ७ बजे उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरु दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले जानकारी दिए ।
कार चालक अघौं घर भएका मानबहादुर बानियाँलाई नियन्त्रणमा लिइएको छ । ठक्कर दिएपछि कार पनि सडक छेउमा पल्टिएको थियो । स्कुटर कार मुनि परेको थियो ।
