बारा । बाराको सिम्रौनगढ़ नगरपालिकामा गोली चलेको छ ।
नगरपालिकामा आन्दोलनरत शिक्षक कर्मचारीले सो नगरपालिकाका नगरप्रमुख चढ़ने गाड़ी तोडफोडपछि आगजनी गर्न लागेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो । बुधबार प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढ़ेर कार्यलय जाने क्रममा आन्दोलनकारीले गाडीमा ढुंगा प्रहार गरेका थिए ।
ढुंगा प्रहारपछि आन्दोलनकारीहरुले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनका अनुसार गोली लागेर एक जना घाइते भएका छन् ।
उनलाई उपचार गर्न नारायणी उपक्षेतिय अस्पताल लगिएको छ । घाइतेको पहिचान भएको छैन । नगरपालिकामा ५ महिनादेखि नगर अस्पतालबन्द छ भने एक साता देखि सामुदायिक विद्यालयहरुमा पठन पाठन पनि ठप्प छ ।
सो नगरपालिकामा शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरु १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् ।
