काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी छिन् ।
श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।
विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।श्रृंखलाको विवाहकै लागि भनेर हार्वर्ड विश्वविद्यालयका उनका सहपाठी अमेरिकादेखि काठमाडौं आएका छन् ।
श्रृंखला बेहुलीको रातो पोशाक र दुबोको मालामा सजिएकी छन् । सम्भव नेपाली ढाकाटोपी र नेपालीपनको झल्को दिने बेहुलाको पोशाकमा देखिएका छन् । दुवै वरवधु तस्वीरमा उन्मुक्त र प्रफुल्ल देखिन्छन् ।
केही दिन चलेको हल्दी, मेहेन्दी र संगीत सेरेमोनीपछि आज स्वयम्वर हुन लागेको हो । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
