धनकुटा । रक्सीले मातेका एक मानिसका कारण एमालेको संकल्प यात्रामा अनौठो अवस्था उत्पन्न भएको छ ।
रक्सीले लठ्ठ मातेका एक जना मानिस बिहानैदेखि जसरी पनि केपी ओलीसँग भेट्छु भनिरहेका थिए, जब भेट भयो, अंगालो मार्न झम्टिए ।
यो घटना हो धनकुटाको लेगुवाघाटको । संकल्प यात्राको क्रममा भोजपुरको यात्रा सकेर धनकुटा आइपुगेपछि ती मातेका मानिसले हर्कत गरेका हुन् ।
अरुण नदी किनारामा रहेको लेगुवा बजारमा एमालेको यात्रा टोली आइपुगेपछि एमाले कार्यकर्ता तथा स्थानीयले फूलमाला दिएर स्वागत गरेका थिए । स्वागत गर्नेको भीडमा मदहोस ती मानिस पनि पसे । उनी अध्यक्ष ओलीलाई अंगालो मार्न लम्किए । अवाञ्छित व्यक्ति त्यसमाथि रक्सीले मातेका मानिस ओलीलाई अंगालो हाल्न लम्किएपछि सुरक्षाकर्मीहरु सतर्क भइहाले । उनीहरुले सुरक्षा नियम पालना गर्दै तत्कालै ओलीलाई घेरा हाले, ती व्यक्तिलाई तत्काल पर हटाए । तैपनि ती व्यक्ति ओलीलाई अंगालो मार्छु भन्दै चिच्याइरहे ।
उनलाई कार्यकर्ताले घिच्याउँदै भीडबाट बाहिर निकाले ।
ती मत्तु मानिसलाई त्यसपछि प्रहरीले पक्रेर भ्यानमा हाल्यो । भ्यानमा हालिसकेपछि उनी कराउँदै थिए, ओली जिन्दावाद, ओलीलाई भेट्न पाउनैपर्छ ।
रमाइलो त त्यसपछि भयो, जब कैयन मिडियामा केपी ओलीमाथि सांघातिक आक्रमण भन्दै समाचार आउन थाल्यो । सो कार्यक्रममा रहेका सनराइजकर्मीले घटनाको वास्तविक भिडियो समेत खिचेका छन् ।-सनराइजखबर
