धनगढी: धनगढीमा जारी सुदूरपश्चिम महोत्सव २०८० मा नायक पल शाहको ब्रासलेट हराएको छ। शनिबार महोत्सवमा प्रस्तुति दिने क्रममा उनको करिब ३ तोला सुनको ब्रासलेट हराएको जनाइएको छ।
प्रस्तुतिका क्रममा उनकै फ्यानहरूले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो भन्ने विषयमा अत्तोपत्तो नै छैन। ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनि अहिलेसम्म फेला नपरेको आयोजकले जनाएको छ।
महोत्सवमा उद्घोषकले पनि नायक शाहको ‘ब्रासलेट हराएको सूचना’ जानकारी गराएका थिए। तर शाहले ब्रासलेट हराएकोमा कुनै दुःख व्यक्त नगरेको बताइन्छ।
पलले आफ्नो फेसबुक पेजमा लेखेका छन्,‘यति धेरै माया गर्नुहुने सुदूरपश्चिमेली आमाबुवा, दाजुभाइ, दिदीबहिनी सम्पूर्ण शुभचिन्तकज्यूहरूमा हृदयदेखि नमन व्यक्त गर्दछु। सुदूरपश्चिम महोत्सव २०८० का सम्पूर्ण आयोजकज्यूहरू तथा दाइ मिलन कुँवरप्रति विशेष आभार तथा धन्यवाद व्यक्त गर्दछु।’
आयोजना उद्योग वाणिज्य महासंघ कैलालीको दाबीअनुसार हिजोमात्रै एकैदिन १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेका थिए। १७औं वार्षिक संस्करणसम्म आइपुग्दा शनिबारको संख्या अहिलेसम्मकै बढी हो। दर्शकको घुइँचोले महोत्सवस्थलको आन्तरिक व्यवस्थापन नै कठिन भएको थियो।
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा सञ्चालन भइरहेको महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र मागअनुसार महोत्सवको अवधि ३ दिन थप पनि गरिएको छ।
मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुस ५ गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना हुँदै आएको छ।
