• Monday 5th of October 2026

भारतमा भेटिएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि भित्रिएको हो ?


  • धनकुटा खबर
  • .

कोरोना भाइरसको नयाँ भेरियन्टको असर अहिलेसम्म नेपालमा फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको केरला र नयाँ दिल्लीमा नयाँ भेरियन्टबाट प्रभावित केही व्यक्ति फेला परेको समाचार आइरहेको तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचेत रहेको प्रवक्ताले बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अहिले भारतमा फेला परेका व्यक्तिमा पनि घातक असर नपाइएको बताए ।

प्रवक्ता बुढाथोकीका अनुसार, यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको खोप प्रभावकारी भएकाले नयाँ भेरियन्ट भित्री नै हाले पनि तत्काल गम्भीर असर पर्ने छैन । तर मन्त्रालयले तालिम प्राप्त जनशक्ति, स्वास्थ्य साधन र सीमा नाकामा हुने आवतजावतको दैनिक विवरण सङ्कलन गरिरहेको छ ।

‘१६ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कबाट दैनिक आवतजावत गर्ने मानिसहरूमा कुनै असर भए नभएको विवरण सङ्कलन भइरहेको छ,’ प्रवक्ता बुढाथोकीले भने, ‘कोभिडका अघिल्ला महामारीमा काम गरेका तालिमप्राप्त जनशक्तिको अपडेट राखेका छौँ, स्वास्थ्य सामग्री तयारी अवस्थामा छ र अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले पनि नियमित विवरण राख्ने गरेको छ।’

अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा श्वासप्रश्वासको समस्या भएका व्यक्ति फेला परे उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र स्याम्पल परीक्षण गर्दा कोभिडको असर पुष्टि भएमा निगरानीमा राखेर उपचार गर्ने प्रबन्ध पनि भएको बुढाथोकीले जानकारी दिए ।

यति बेला मन्त्रालयले कोभिडको नयाँ भेरियन्ट भित्री नै हाले पनि तत्काल परिचालन हुने गरी सबै तयारी अवस्थामा प्रबन्ध गरेको बुढाथोकीले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖