• Monday 5th of October 2026

अधिकांश ग्यास्ट्रिक पूर्ण रूपमा निको पार्न सकिन्छ


  • धनकुटा खबर
  • .

डा.वरुण श्रेष्ठ
ग्यास्ट्रोइन्टेरोलोजिस्ट

ग्यास्ट्रिक भन्नाले माथिल्लो पेट दुख्ने, पोल्ने अथवा खाना खाएपछि पेट फुलेजस्तो हुनुलाई बुझिन्छ। कतिपयलाई ढ्याउ धेरै हुने समेत हुन्छ। नेपालमा धेरै हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणुले ग्यास्ट्रिक भएको देखिन्छ। कहिलेकाहीँ नदुख्ने औषधी खाँदाखेरी ग्यास्ट्रिक हुन्छ। ग्यास्ट्रिकका बिरामीले मुटु दुख्यो समेत भनेका हुन्छन्।

केले गर्दा ग्यास्ट्रिक हुन्छ भन्ने थाहा भयो भने चाँडै उपचार गर्न सकिन्छ। समयमा खाना नखाँदा पेट दुख्ने र ग्यास्ट्रिक हुने हुन्छ। पिरो, चिल्लो र सुख्खा खाना खान हुँदैन। कुनै पनि औषधी चिकित्सकको सल्लाहबिना खान हुँदैन। एसिडिटी बढाउने खाना, चुरोट, रक्सी अनि सुर्ती खान हुँदैन। हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणु खानपिनबाट सर्ने भएकाले सरसफाइमा ध्यान दिन खानुभन्दा पहिला साबुन पानीले हात धुने, शौचालय गइसकेपछि साबुन पानीले अनिवार्य हात धुने गर्नुपर्छ। त्यस्तै, अर्काको जुठो नखाने हो भने जोगिन सकिन्छ। अत्यधिक पिरो र चिल्लो खाना खान हुँदैन।

कहिलेकाहीँ अल्सर भइसकेको छ भने कालो बान्ता र कालो दिसा आउन सक्छ। कसैलाई दुखाइ कम हुन्छ भने कसैलाई धेरै हुन्छ। कतिपयलाई अल्सर भइसक्दा समेत दुखाइ कम हुन्छ।

यसको उपचार गर्ने भनेको ग्यास्ट्रिकको कारण पत्ता लगाएर हो। सामान्य लक्षण छन् भने चिकित्सकको सुझावको आधारमा औषधी खान सकिन्छ। खान मन नलाग्ने, दुब्लाउँदै जाने लगायतका लक्षण हुन् भने अल्ट्रासाउण्ड, इण्डोस्कोपी लगायतका परीक्षण गर्नुपर्छ।

पेट फुल्दै गएपछि पेटको चाल कम हुन थाल्यो भने खाना राम्रोसँग पास भएको छैन भने ढ्याउढ्याउ आउने हुन्छ भने कतिपयलाई छाती समेत पोल्छ। ग्यास्ट्रिक जटिल बन्दै गएको छ भने ढ्याउढ्याउ आउने हुन्छ।

एक पटक ग्यास्ट्रिक भयो भने त्यसलाई सधैंको लागि निको पार्न सकिन्छ। त्यसको लागि खानपिनमा सुधार ल्याउने, जथाभावी औषधीको प्रयोग गर्न हुँदैन। कुनैकुनै अवस्थामा बाहेक अधिकांश ग्यास्ट्रिक पूर्ण रूपमा निको हुन्छन्।

(ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा.वरुण श्रेष्ठ नेसनल सिटी हस्पिटल भरतपुरमा कार्यरत छन्।)

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖