• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रोगले थलिए बाबु, राज्यबाटै मारिए छोरा


  • धनकुटा खबर
  • .

धनगढी । अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह दुई वर्षयता काठमाडौँमै थिए। चाडबाडमा घर आउजाउ गर्थे।
बिज्ञापन

गाउँमा कक्षा १२ उत्तीर्ण गरेर काठमाडौँ गएका उनी रोजगारीका लागि कोरिया जान भाषा पढिरहेका थिए। कोरिया गएर रोजगारी गर्ने उनको सपना थियो।

काठमाडौँमा बसाईका लागि घरपरिवारले खर्च जोहो गर्न सक्ने अवस्था थिएन। छोराको सपना साकार पार्न ५२ वर्षीय बाबु टेकबहादुर भारत हानिए। बुबा टेकबहादुर त्यसअघि घरमै खेती किसानी गर्थे।

बङ्लोरमा चौकीदारी गरेर उनले छोराको पढाइ र काठमाडौँ बसाइको खर्च जेनतेन धानिरहेका थिए। बीचमै उनी बिरामी परे। बिरामीले थलिएर एक साताअघि बुवा टेकबहादुर घर फर्किए।

छोरा वीरेन्द्र कोरिया जान पाएनन्। प्रहरीको गोली लागेर काठमाडौँमा ढले। ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा गोली लागेर उनले ज्यान गुमाए।

‘भारतमा काम गर्न नसकेपछि वीरेन्द्रका बुवा घर फर्किए। छोराले भाषा परीक्षा पास गरेर कोरिया जान्छ भन्ने आश थियो,’ वीरेन्द्रका बाजे नाता पर्ने गणेशबहादुर शाहले भने, ‘आज यस्तो दुःखद खबर सुन्नुपर्यो।’

शाह परिवारको सहारा चुँडिएको छ। छोराको मृत्युको खबरपछि आमा बेहोस छिन्। अर्धचेत अवस्थामा रहेका बुवा टेकबहादुरसहित काका र केही परिवारजन शुक्रबार बेलुका काठमाडौँतर्फ लागेका छन्।

घरपरिवारमा रुवाबासी चलेको छ। इष्टमित्र र छरछिमेकले वीरेन्द्रकी आमालाई सान्त्वना दिइरहेका छन्।

वीरेन्द्रका जेठा दाइ एकेन्द्र महिनाअघि श्रीमतीसहित रोजगारीको खोजीमा भारतको मुम्बइ गएका थिए। गणेशका अनुसार भाइको निधनको खबरपछि उनीहरू घर फर्किरहेका छन्।
वीरेन्द्रले कक्षा १२ सिउडी माध्यमिक विद्यालयबाट उत्र्तिण गरेका थिए। उनको परिवारको आर्थिक अवस्था निकै कमजोर छ।

‘भारतमा रोजगारी गरेर जेनतेन भाषा पढाएका थिए। कोरिया गएपछि कमाइहाल्ला भन्ने सोच थियो,’ गणेश भन्छन्, ‘ऋणदान गरेरै भएपनि पठाउला, सपना साकार गरौँला सोचेका थियौँ। सबै भताभुङ्ग भयो।’

परिवारको सहारा ढलेपछि ठूलो बज्रपात परेको उनी बताउँछन्।

‘बुढेसकालमा आमाबुवाको सहारा थियो। ऋण खोजिदिनू। कोरिया गएपछि सबै कुरा ठिक भइहाल्छ भन्थ्यो,’ उनले भने, ‘सपना क्षणभरमै बिलिन भएका छन्।’

वीरेन्द्रको अन्तिम संस्कार काठमाडौँ गर्ने कि अछाम ल्याउने केही टुंगो लागेको छैन।-नेपालखबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖