• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग मिलेर प्रधानाध्यापकद्वारा १८ लाख झ्वाम


  • धनकुटा खबर
  • .

काठमाडौँ । तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकमा निकासा भएको १८ लाख तीन हजार सात सय ४१ रुपैयाँ हिनामिना गरेको अभियोगमा बाँकेस्थित नरैनापुर गाउँपालिका–२ मा सञ्चालित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । साविक जिल्ला शिक्षा कार्यालय बाँकेबाट निकासा उक्त रकम सम्बन्धित शीर्षकमा खर्च नगरी हिनामिना गरेको अभियोग आयोगको छ । आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्म शिक्षकको तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको रकम प्रधानाध्यापक जोलाह र खाँले आफूखुसी खर्च गरेको आयोगको अनुसन्धानबाट खुलेको प्रवक्ता नरहरि घिमिरेले बताए ।

उनका अनुसार तत्कालीन प्रधानाध्यापक जोलाहको नाममा लेखापरीक्षण प्रतिवेदनले पेस्की बेरुजु औँल्याएको रकमसमेत सम्बन्धित शीर्षकमा खर्च गर्नुपर्नेमा उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाँसँग मिलेमतो गरी उक्त रकम आफूखुसी खर्च गरेको अनुसन्धानबाट खुलेको छ ।

खाँले तत्कालीन प्रधानाध्यापकको हैसियतले आफ्नो जिम्मामा रहेका सक्कल कागजातहरू बरबुझारथ नगरी लुकाइ नष्ट गरेको आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । आयोगले जोलाह र खाँविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा बिगोसहितको जरिवाना र कैद सजायको मागदावी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖