• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कालो टीका लगाउने अभियानपछि घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य


  • धनकुटा खबर
  • .

बागलुङ – बागलुङको तमानखोला गाउँपालिका–१ मा घरमा सुत्केरी हुँदा कालो टीका लगाउनुपर्ने भएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको छ । घरमा सुत्केरी हुँदा आमा र शिशुको ज्यान जाने जोखिम रहेकोले यो प्रचलन हटाउन परिवर्तनशील स्वास्थ्य आमा समूहले यस्तो अनौठो अभियान चलाएको हो ।

यो अभियानपछि केही वर्ष अघिसम्म सुत्केरी हुने बेलामा गोठ खोज्ने महिलाहरु अहिले भने गर्भ रहेको थाहा पाएदेखि नै स्वास्थ्य चौकी गएर नियमित स्वास्थ्य परीक्षण गर्ने गर्छन् ।

यो आर्थिक वर्षमा १५ जना सुत्केरी भएकोमा उनीहरु सबैले स्वास्थ्यचौकी गएर नियमित परीक्षण गरी सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । यो अभियानपछि गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे घरमै आमा समूह पुग्छ र कालो टीका लगाइदिन्छ । स्वास्थ्य चौकीमा गएर नियमित परीक्षण नगर्दा पनि आमा समूहले पहेँले टीका लगाइदिने गर्छ । र। नियमित परीक्षण पश्चात स्वास्थ्य संस्थामा सुत्केरी भएमा भने आमा समूहले रातो टीका लगाइदिने गरेको छ ।

कालो टीका अशुभ मानिने हुनाले घरमा सुत्केरी हुनेको सङ्ख्या दुईवर्ष यता शून्य छ ।

गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भए पनि घरमै सुत्केरी हुने महिलाको संख्यामा कमी आएको थिएन । तर, अहिले आमा समूहले यो अभियान चलाएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य हुन पुगेको हो ।

तीनवर्ष पहिले तमानखोला गाउँपालिकाले बज्रबाङमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । विवाइसी बागलुङसँग मिलेर त्यहा क्लिनिकका लागि भवन बनेको छ । गर्भजाँचका लागि बोंगादोभान स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी त्यहीँ पुग्छन् ।

त्यहाँबाट बोंगादोभान पठाइएका गर्भवती त्यहाँ सुत्केरी हुन नसक्ने अवस्था आए बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइन्छ । त्यहाँ पुग्न गाउँपालिकाले यातायात खर्च दिन्छ । त्यहाँभन्दा बाहिर जाँदा रु दश हजार खर्च गाउँपालिकाले नै दिने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖