काठमाडौं । सर्लाहीको बरहथवा ६ की कलावतीदेवी साह ओछ्यान परेको दुई दिन भयो । आफन्तले पिलाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन् । बेलाबेला होस खुल्नेबित्तिकै उनी बौवा (छोरा जयशंकर साह) लाई ल्याइदिनू भन्दै चिच्याउँछिन्, एक छिनपछि मुर्छा पर्छिन् ।
छोराको मृत्युको खबरले शुक्रबार दिउँसोदेखि उनी ओच्छ्यानमै ढलेकी हुन् । कलावती विलाप गर्छिन्, ‘हौ बाउ, आब हम केकरा बेटा कहबै ?’ (अब मँ कसलाई छोरा भन्ने ?) । केकरा सहारे जिबै हौ (कसको सहारामा बाच्ने) ?,’ साह निवासमा जम्मा भएका हितैषी भारी आवाजमा सम्झाउन खोज्छन् । पानी छर्केर होसमा ल्याउँछन् । उनी चिच्याउँदै फेरि मुर्छा पर्छिन् ।
अञ्जली साह भाइको वियोगमा बिलौना गर्दै आँगनमा ढलेकी छिन् । शकुन्तला, सावित्री र रुवी भाइको बिलौना गर्दै ओच्छ्यान परेकी छिन् । होस खुलेपछि उनीहरू आफन्त र आगन्तुकलाई एकहोरिएर टोलाउँछन् । रुँदारुँदा उनीहरूको आँसु सुकिसकेको छ । चिच्याउँदा चिच्याउँदै आवाज बसिसकेको छ ।
अस्पतालको स्तरोन्नतिको विवादमा प्रहरीले चलाएको गोली टाउकोमा लागि २७ वर्षीय जयशंकर साहको मृत्युको खबरसँगै साह परिवारमा सन्नाटा छाएको छ । शुक्रबार दिउँसोदेखि आफन्त र छरछिमेकी जम्मा भएर साह परिवारलाई सान्त्वना दिए पनि सम्हालिन सकेका छैनन् ।
जयशंकर परिवारको रोदन र क्रन्दनले साहनिवास पुगेका सबैका आँखामा आँसु देखिन्थ्यो । मुर्छित आमा, दिदीहरू र भान्जा विवेकको निश्चल आँखाले जयशंकर खोजिरहेको थियो । बंगाली र कलावतीको पाँच सन्तानमध्ये उनी एक्ला छोरा थिए । बुवा बंगाली साहको मृत्युपछि परिवारको एक्लो साहारा जयशंकरको सपना डाक्टर बन्ने थियो ।
परिवारले उनको सपना पूरा गर्न कुनै कसर बाकी राखेका थिएनन् । बंगलादेशमा एमबिबिएस अध्यन पूरा गरिसकेका बुवाकै विरासत व्यपार सम्हाल्दै आमाको सहारा बनेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।
