• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चितवनमा श्रीमती र भतिजको हत्या गरेर फरार व्यक्ति भारतको जेलमा फेला


  • धनकुटा खबर
  • .

चितवनको मिलनचोकस्थित कल्भर्टमा फेला परेका दुई शवको पहिचान खुलेको छ। उनीहरु दुवै जना भारतीय नागरिक भएको खुलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ।

गत मंसिर ६ गते दिउँसो पउने १ बजे भरतपुर महानगरपालिका १२ मिलनचोकस्थित सडक कल्भर्टमुनी शंकास्पद रुपमा दुई वटा शव जुटका बोराभित्र फेला परेको थियो।

दुई वटा जुटको बोरामा महिला र पुरुषको शव छुट्टा छुट्टै फेला परेको थियो। महिलाको मुखमा टेप लगाएको थियो। घाँटीमा सलले कसेको र दुवै शवको हात र खुट्टा बाँधिएको थियो।
सोही डोरीले घाँटीमा समेत बाँधिएको थियो।

घटना शंकस्पद देखिएपनि स्थानीय प्रहरीले पत्ता लगाउन सकेको थिएन। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय चितवन समेतको संयुक्त टोली अनुसन्धानमा खटिएको थियो।

टोलीले डेढ महिनापछि घटनाको सत्यतथ्य पत्ता लगाएको हो। मृतक पुरुष ऋषभ कुमार कुशवाहा र मृतक महिला अस्मिता भन्ने सन्जु देवी रहेको खुलेको हो। उनीहरुको हत्या सन्जुका श्रीमानले नै गरेको र हाल उनी भारतको जेलमा रहेको प्रहरीले पत्ता लगाएको हो।

उनीहरु नेपालमा तरकारी, फलफुल व्यापार गर्दै आएका थिए। त्यसका लागि उनीहरु पटक पटक आउने जाने गरेको पाइएको छ। पछिल्लो पटक २०८० सालको दशैं पछि उनीहरु नेपाल आएका थिए। चितवनको मिलनचोक स्थित ऋषभका काका नाता पर्नेको कोठा नजिकै डेरा लिएर बस्दै आएका थिए।

ऋषभ र सन्जुबीच रहेको अवैध सम्बन्धका कारण सन्जुका श्रीमान अखिलेश भगतले उनीहरुको हत्या गरेको खुलेको छ। यसअघि पनि यही विषयमा शंका गरेर सन्जु र ऋषभसँग अखिलेसको झगडा हुने गरेको खुलेको छ।

अनुसन्धानको क्रममा ऋषभ र सन्जुको हत्या मंसिर २ गते नै भएको खुलेको छ।

आफू बस्ने गरेको कोठामा नै हत्या गरेर मंसिर ३ गते राति साइकलमा लगेर शव उक्त स्थानमा फालेको खुलेको हो।

हत्या गरिएका ऋषभ १९ वर्ष र सन्जु ३० वर्षकी हुन्। ऋषभको ठेगाना भारत, मोतिहारी फुलबारीया, सुगौली हो। सन्जुको ठेगाना भारत, बिहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारण हो।

१४ दिनपछि भागे भारत
श्रीमती र भतिजको हत्या गरेपछि पनि अखिलेस १४ दिनसम्म नेपालमै बसेको खुलेको छ। उनी मंसिर १६ गते मात्रै भारत भागेको सीआईबीको दाबी छ।

उनले हत्या गरेको यसअघि नै पत्ता लगाएको सीआईबीले उनको खोजिका लागि भारतीय प्रहरीको पनि सहयोग लिएको थियो।

भारतीय प्रहरीसँग समन्वय गरि खोजतलास गर्दा उनीविरुद्ध भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धि मुद्दा दर्ता भएको खुलेको छ।

पुस १६ गते उनलाई भारतीय प्रहरीले सोही मुद्दामा पक्राउ गरेर अनुसन्धानका लागि भारतको केन्द्रीय कारागृह मोतिहारीमा राखेको खुलेको छ।

भारतीय प्रहरीको समन्वयमा उनलाई अनुसन्धान तथा सोधपुछ गर्दा उनले नेपालको चितवनमा भतिजा नाता पर्ने ऋषभ र आफ्नो श्रीमती अस्मिता भन्ने सन्जु देवीलाई हत्या गरी आएको भन्ने स्वीकार गरेको पनि सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖