• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रहरी पुगेपछि घरको दुई तलाबाट हामफालेका थिए रामबहादुर बमजनले


  • धनकुटा खबर
  • .

तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीको टोली पुग्दा उनी भाग्न खोजेको खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई पक्राउ गर्न खटिएको थियो।

सिआइबी प्रमुख एवं एआइजी किरण बज्राचार्यका अनुसार बमजन केही समयदेखि काठमाडौंमा बस्दै आएको भन्ने सूचना प्राप्त भएको थियो।
उक्त टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य प्रहरीले पत्ता लगायो। त्यसपछि बुढानिलकण्ठस्थित रहेको एक घरमा डिएसपी भण्डारीको टोली पुग्यो।
जसै टोली पुग्यो बमजनले आफूलाई पक्राउ गर्न आएको भेउ पाए। उनी उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए। उनकी श्रीमती लगायतले पनि प्रहरीलाई रोक्न कोसिस गरे।

बमजन घरको दोस्रो तलामाथि बसिरहेका थिए। प्रहरी आएको थाहा पाएपछि बमजनले बरण्डाबाट हामफालेको सिआइबी स्रोतले जानकारी दियो।

उनी भाग्न लागेपछि प्रहरीले उनलाई बाहिरै पक्राउ गरेको स्रोतले जनाएको छ।

बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो।

उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए। आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको थिए।
उनीविरूद्ध गंगामायाले बलात्कारको जाहेरी दिएकी थिइन्। सर्लाही जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन छ।

बमजनले आफ्नो विभिन्न आश्रममा हत्या, हिंसाको दुष्चक्र चलाएको विवरणहरू सेतोपाटीले प्रकाशन गरेको थियो। त्यसपछि उनीमाथि आश्रममा बस्ने युवती र युवकहरू बेपत्ता पारेको भन्दै उजुरी परेका थिए।

तर उनी लामो समयदेखि फरार रहँदै आएका थिए। प्रहरीको टोली पटकपटक उनको आश्रममा पनि पुग्ने गरेको छ। तर प्रहरीले उनलाई पत्ता लगाउन सकेको थिएन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖