• Friday 9th of October 2026

भारतको कुनै रंगशालालाई घरेलु मैदान तोक्ने क्यानको चाहना


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मैदानलाई आफ्नो घरेलु मैदानमा रुपमा प्रयोग गर्न प्रस्ताव गरेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा बलिया तथा टेष्ट राष्ट्रलाई बोलाएर खेल खेल्ने पूर्वाधार नभएका कारण भारतीय मैदानलाई घरेलु मैदानका रुपमा प्रयोग गर्न भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुरा राखेको बताए ।

१९ पुसमा भारतीय विदेशमन्त्री एस. जयशंकर नेपाल भ्रमणमा आएका बेला नेपाल क्रिकेट संघका पदाधिकारी र खेलाडीहरुले भेट गरेका थिए । त्यस क्रममा आफूहरुको प्रस्तावमा भारतीय विदेशमन्त्री सकारात्मक रहेका अध्यक्ष चन्दले बताए ।

‘नेपालमा टेष्ट राष्ट्रहरु बोलाएर खेल्ने अवस्था र पूर्वाधार नभएका कारण नेपाल क्रिकेटको विकासका लागि उहाँँले हामीलाई खुल्ला सहयोगको रुपमा मैदान उपलब्ध गराउने कुरा भएको हो’, अध्यक्ष चन्दले अनलाइनखबरसँग भने ।

नेपालमा ठूला देशसँग क्रिकेट खेल्न पर्याप्त पूर्वाधार नहुँदासम्म भारत लगायत विश्वका अन्य राष्ट्रहरुसँग खेल्ने वातावरण बनाउन भारतमा घरेलु मैदानको योजना बनाएको उनको भनाइ छ ।

‘हामी विश्वकप तयारीका के गर्ने, टिमको अभ्यासका लागि के गर्ने, चाँडोभन्दा चाँडो पूर्वाधार कसरी बनाउने, ठूला पूर्वाधार बनाउन के गर्ने भन्ने कुराहरु समावेश गरेर नै हामीले प्रस्ताव तयार गर्ने छौं’, अध्यक्ष चन्दले भने ।

नेपालले १÷२ दिनमै भारतसँग यससम्बन्धी औपचारिक प्रस्ताव राख्ने र नेपालबाट आवतजावत गर्न जुन स्थानमा सहज त्यहीँको मैदान माग गर्ने उनले बताए । भारतमा देहरादुन, नोयडा र लखनउमध्ये कुनै एक मैदानलाई नेपालले होम ग्राउन्डका रुपमा उपयोग गर्ने चाहना राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖