• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

साथीको हत्या आरोपमा गोरखामा एक पक्राउ


  • धनकुटा खबर
  • .

गोरखा । गोरखामा धारिलो हतियार प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ वर्षीय किसान परियार रहेको प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिका–८ लामाचौरका २८ वर्षीय महेश भन्ने शमशेरबाबु पन्तको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए ।

गोनपा–१४ अकला मन्दिर नजिकै हिल कटेज नामक होटल संचालन गर्दै आएका पन्त आफैले सञ्चालन गरेको होटलमा मृत अवस्थामा फेला परेका थिए । ‘पुस ९ गते घटना भएको रहेछ, हामीलाई १६ गतेमात्र खवर भयो,’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा परियारले हत्या गरेको खुल्न आयो ।’

घटना लगतै फरार रहेका परियारलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौको सहयोगमा कलंकीबाट पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए । ‘मंगलवार पक्राउ ग¥यौ, बुधवार कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडी बढाएका छौ,’ उनले भने ।

उनका अनुसार पुस ९ गते राति करिब नौ बजेको समयमा मादक पदार्थ र लागू औषध सेवन गर्ने क्रममा पन्त र परियारबीच विवाद भएको थियो । प्रहरीका अनुसार उनीहरु प्रायसँगै मापसे गर्ने र लागू औषध खाने गर्थे ।

तर त्यो दिन व्यक्तिगत रिसिवीका कारण विवाद चर्केपछि परियारले होटलको भान्सामा रहेको खुर्पा र चक्कुले पन्तको शरिरको विभिन्न भागमा पटक पटक प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको एसपी श्रेष्ठले जानकारी दिए ।

‘टाउकोको पछाडि भाग, अनुहार र खुट्टामा खुर्पा र चक्कु प्रहार भएको देखिन्छ, घटनापछि परियार आफन्तहरुकोमा लुक्दै आएका थिए, हामीले पक्राउ गर्न सफल भयौ,’ उनले भने ।

प्रहरीले घटनामा प्रयोग भएको चक्कु, खुर्पा र मृतकको मोवाइल समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖