• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

साइनो लगाएर पाहुना–बास बसेर लुटपाट गर्ने एकजना पक्राउ


  • धनकुटा खबर
  • .

विराटनगर । साइनो केलाएर पाहुना बनेर बास बसेको घरमा लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गरेर भाग्ने युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको बिहार, फारबिसगञ्जका ३५ वर्षीय सन्तोष थापा नाम बताउने व्यक्ति छन् । उनलाई इलामको माई नगरपालिका ३ बाट पक्राउ गरिएको हो ।

उनको साथमा रहेको आधार कार्डका आधारमा उनलाई यसरी पहिचान गरिएको प्रहरीले जनाएको छ । यद्यपी उनले पहिचान गर्ने लोकेशन हेर्दा उनी नक्कली आधार कार्डवाला हुनसक्ने अनुमान गरिएको छ । भारतको व्यक्ति नेपालका भित्री गाउँहरुमा पुगेर सोझै बास माग्ने र बस्ने संभावना कम हुनसक्छ । उनले परिचय लुकाउन भारतको नक्कली आधार कार्ड बनाएको हुनसक्ने अनुमान प्रहरीको छ ।

इलामको माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा स्थानीय बासिन्दाको पाहुनाका रुपमा बास बसेर नगद, मोटरसाइकल, गहनालगायत धनमाल लुटेको प्रहरीले जनाएको छ ।

गत मंसिर ५ गते राति माई नगरपालिकाको कालीखोलाका ५६ वर्षे धनबहादुर केरुङ र ६८ वर्षीय पूर्णबहादुर आले मगरको घरबाट नगद १८ हजार आठ सय, एउटा ल्यापटप, एउटा टिभी, दुइटा मोबाइलसहित करिब एक लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटिएको थियो । त्यस घटनामा थापाकै संलग्नता रहेको जनाइएको छ ।

पक्राउ परेका थापाले झापा र मोरङका विभिन्न स्थानमा पनि यसैगरी धनमाल लुटेर भाग्ने गरेको पाइएको छ ।

गाउँ गाउँ पुगेर स्थानीयको घरमा बास माग्ने र अनेक साइनो लगाएर विश्वस्त बनाउने उनको जुक्ति पाइएको छ ।

कहिले छोराको मीत हुँ भन्ने, कहिले कुनै टाढाको आफन्त भएको बताउने अनि कहिले भारतीय लाहुरे हुँ भन्ने उनले आफ्नो साथमा १० वर्षीय छोरा पनि साथै लैजाने गरेको पाइएको छ ।

ठाउँपिच्छे फरक फरक नाम र ठेगाना बताएर बास बस्ने गरेको पनि खुलेको प्रहरीले जनाएको छ । उनले बास बसेको घरमा भएका धनमाल लुटेर भोलिपल्ट भाग्ने गरेका थिए ।

थापालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । कोही उनीबाट ठगिएको भए जानकारी दिन पनि प्रहरीले सूचित गरेको छ ।- ओबी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖