चितवन । माडीको एक विद्यालयका शिक्षकले कक्षा ७ मा पढ्ने विद्यार्थीले कक्षाकोठामा नै रक्सी लिएर गएर गएर भेट्टाए । मिनरल वाटरको बोतलमा घरेलु रक्सी राखेर कक्षाकोठामा लगेको पाइएपछि शिक्षकले विद्यार्थीलाई चेतावनी दिए ।
दुई महिनाअघिको यो घटनाबारे शिक्षक तथा विद्यालय व्यवस्थापन समिति सदस्यले अभिभावकलाई पनि सूचना गरे । घरमै रक्सी बनाउने भएकोले कक्षा ७ मा नै पढ्ने छोरीले बोतलमा राखेर रक्सी विद्यालय लगेको आफूले थाहा नपाएको अभिभावकले बताए ।
माडीमा नगरपालिकामा घरेलु मदिरा र बढ्दो कुलतको प्रयोग विद्यालयमा पढ्ने विद्यार्थीमा मात्रै होइन । यो समस्या समुदायस्तरमा पनि बढ्दै गएर मदिराका कारण सामाजिक समस्या थपिन थालेपछि यहाँका सरोकारवाला चिन्तित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार चितवनको माडीमा चालु आर्थिक वर्षको ६ महिनामा १० जनाले आत्महत्या गरेका छन् । आत्महत्याको कारणहरूमध्ये पनि अधिकांश मदिराजन्य कुलत रहेका प्रहरीको अध्ययनले देखाएको छ ।
गएको मंसिरमा माडी ९ का ६० वर्षका मनराज दुराले आत्महत्या गरे । उनी भारतीय सैनिक सेवाबाट अवकाशप्राप्त व्यक्ति थिए । अत्यधिक मदिरा सेवन गर्ने बानी भएपछि परिवारले उनलाई मदिरा सेवन गर्न रोकेका थिए । प्रहरीका अनुसार दुराले रक्सी पिउन नपाएको चौथो दिनमा आत्महत्या गरेका थिए ।
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दीपक रिजाल माडीका घटनाहरूबारे विश्लेषण गर्दै भन्छन्, — घरेलु मदिरा जस्ता कुलतका कारण आत्महत्या, लैङ्गिक हिंसा लगायतका घटना थपिँदै गएको छ ।
विद्यालय तहमा पनि यो समस्या बढ्दै गएपछि चिन्तित भएर माडी नगरपालिकाले आफ्नो कार्यपालिका बैठकबाट विद्यालयको एक सय मिटर आसपास मदिरा, पान, गुड्का लगायतका कुलतजन्य सामग्री बिक्रीमा रोक लगाउने निर्णय गरेको छ ।
माडीको सोमेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति समेत रहेका माडीका अगुवा टिकाराम सुवेदी भन्छन्, — समुदाय हुँदै विद्यालयसम्म आइपुगेको कुलतको समस्याले हामीलाई निकै अप्ठ्यारो पार्न थालिसकेको छ ।
सोमेश्वर माध्यमिक विद्यालयकै प्राचार्य इन्दिरा तिवारी पनि विद्यालयमा कक्षा ६ ७ देखि नै विद्यार्थीहरूमा कुलतको समस्या देखिएकोमा चिन्तित छन् । उनले नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, प्रहरी लगायतका सर्वपक्षीय बैठकमा पनि समुदायको कुलतको प्रभाव विद्यालयमा देखिन थालेको भन्दै यसको समाधानको लागि अनुरोध समेत गरेकी थिइन् ।
माडी नगरपालिकामा कुल १० हजार २ सय २७ परिवारसंख्या रहेको छ । त्यसमध्ये अधिकांश आदिवासी जनजाति समुदायको बसोबास रहेको छ । नगरपालिकाका प्रमुख ताराकाजी महतो मदिरालाई सगुन मानेर पर्व मनाउने समुदाय भए पनि मदिरालाई लतको रूपमा उपयोग गर्न नहुने बताउँछिन् ।
उनले सार्वजनिक कार्यक्रममा नै आफ्नो परम्परादेखि नै मदिरा खाने छ भनेर बेवास्ता गर्न नहुने बताइन् । मदिरा तथा अन्य चुरोट, भोला, गाँजा लगायतका कुलतका कारण बालबालिका तथा समुदायको शान्ति नै प्रभावित हुन थालेको भन्दै उनले सचेत हुन सबैलाई आग्रह समेत गरेकी छन् ।
