• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आज यी स्थानमा वर्षा र हिमपात हुने


  • धनकुटा खबर
  • .

हाल नेपालमा पश्चिमी वायुसँगै बंगलादेशको दक्षिण भूभाग आसपास अवस्थित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदलीको अवस्थामा छ भने तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी तराईका अधिकांश स्थानमा लागेको हुस्सु र कुहिरोको कारण तराई मधेश क्षेत्रको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ।

आज दिउँसो देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ।

आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदलीकै अवस्थामा रहने छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा आज राति हल्का हिमपातकोसमेत सम्भावना छ।

भोलि (बुधबार) कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली हुनेछ भने ती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना छ।

त्यसैगरी भोलि पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले अबको तीन दिनसम्म देशका पहाडी भूभागमा मौसम बदली रही केही ठाउँमा वर्षा र हिमपात हुने पूर्वानुमान गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖