• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अस्ट्रेलियाको आप्रवासी नीतिमा परिवर्तन, नेपाली विद्यार्थीको लागि कति सहज ?


  • धनकुटा खबर
  • .

डार्विन । नेपाली विद्यार्थीहरूको सर्वाधिक रोजाइको देश अस्ट्रेलियाले आप्रवासी नीतिमा परिवर्तन गर्दै भिसा नियममा कडाइ गर्ने भएपछि यसको असर नेपाली विद्यार्थीमा परेको छ। अन्तर्राष्ट्रिय विद्यार्थी र कम सीप भएका कामदार अस्ट्रेलिया प्रवेशमा कमी ल्याउन नयाँ नियम अघि सारेपछि नेपाली बढी चिन्तित छन्।

अस्ट्रेलियाको डार्विन बस्दै आएकी बुटवलकी रोशनी पुन अस्ट्रेलिया सरकारको नयाँ नीति नबुझ्दा र त्यसको पालना नगर्दा यहाँका नेपालीहरूमा धेरै चिन्ता थप्ने गरेको बताउँछिन्। नियम पालना गर्न सके अस्ट्रेलिया सबैभन्दा सजिलो देश भएको उनको बुझाइ छ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अस्ट्रेलियाले नियम पालना नगरे तुरुन्तै हात बाँधेर स्वदेश नफर्काउने तर त्यसको विभिन्न वैकल्पिक उपायहरू दिने गरेको बताए । आपराधिक गतिविधि गरेकाहरू भने कारबाहीमा पर्ने उनको भनाइ छ। पढाइका नाममा कमाइ खाने भाँडो बनाउने, कलेज भर्ना गर्ने, पैसा तिर्ने अनि काम मात्र गरेर बस्नेहरू कारबाहीमा परिरहेका छन्। गैरकानुनी काम गरिरहेकाहरूका लागि समस्या पर्छ । ‘यद्यपि, नियम र कानुन चाहिँ सजिलो छ, इमानदार भएर पालना गरे कसैलाई समस्या पर्दैन,’ पोखरेलले बताए।

यसै गरी शैक्षिक परामर्शदाताहरूले नेपाली विद्यार्थीहरूलाई अहिले नै अतालिने अवस्था आइनसकेको भन्दै शान्त्वना दिइरहेका छन्। नेपालीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ आप्रवासी नीतिले चिन्ता बढाएकोप्रति परामर्शदाताहरूले शान्त्वना दिने गरेका हुन्।

ओएसिस एजुकेसन डार्विनका सञ्चालक आशिष घिमिरेले सरकारको नयाँ आप्रवासन नीतिलाई स्वाभाविक मान्नुपर्ने र चासो चिन्ता हुनुलाई अन्यथा मान्न नहुने बताए । उनले भने,‘यहाँ आएर पढ्ने र पढेको क्षेत्रमै भविष्य सुनिश्चित गर्न चाहनेहरूका लागि नयाँ नीति अवसर हो, अस्ट्रेलिया सरकारको डिपार्टमेन्ट अफ होम अफियर्सले विदेशी विद्यार्थी भिसाका लागि बनाएको चेकलिष्टलाई फलो गर्नसक्नेलाई सरकारले सधैँ स्वागत गरिरहेको छ।’

साथै, नेपाल र अस्ट्रेलियामा रहेको परामर्श कम्पनी ‘केबिए ग्लोबल ’ सञ्चालक साथै माइग्रेसन एजेन्ट शम्भु कँडेलले लिबरल र लेबर पार्टी नेतृत्वको सरकारले फरक फरक नीति लिने गरेको उल्लेख गर्दै अहिले लेबर पार्टीको सरकारले ल्याएको नीतिलाई जटिलताका रूपमा लिनु नहुने बताए ।

अस्ट्रेलियामा अध्ययन गर्न चाहने शैक्षिक र आर्थिक रूपमा सबल विद्यार्थीले नयाँ नीतिबारे चिन्ता लिनु नपर्ने परामर्शदाताहरूको सुझाव छ। विशेषगरी आप्रवासीसम्बन्धी नयाँ योजनाले उक्त देशमा ‘अस्थायी भिसामा रहेका’ तथा छोटो अवधिका कोर्सहरू गर्न जाने नेपालीलाई बढी प्रभावित पार्ने परामर्शदाताहरूको बुझाइ छ। अध्ययनपछि अस्ट्रेलियामा काम गर्न पाइने वर्ष घटाइने योजनाले केही चिन्ता थपेको छ।

अस्ट्रेलियासहित विकसित देशहरूले आफ्नो जनशक्तिलाई व्यवस्थापन गर्ने मनसाय अनुरूप समय समयमा रणनीति परिवर्तन गर्ने गरेका छन्। परामर्शदाताहरू अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीले परिवर्तित पछिल्ला नियमहरूको मूल्याङ्कन गरेर मात्र प्रक्रिया अघि बढाउन सुझाव दिन्छन्।

अस्ट्रेलिया अवसरको देश मानिएकाले अध्ययन गरेर दक्ष बन्दा अवसर पाउन समस्या छैन । दक्ष व्यक्तिले सात दिनमै भिसा पाउने सम्भावना पनि रहेको सरोकारवालाहरूको भनाइ छ।

नेपालमा राम्रो पढाइ भएका, राम्रो विषयमा राम्रो अङ्क ल्याएर पास गरेका, अङ्ग्रेजी भाषा टेस्टमा राम्रो स्कोर ल्याएका, पढाइमा धेरै ग्याप नभएका, अध्यागमनसँग निरन्तर समन्वयमा रहेका विद्यार्थीका हकमा नयाँ नियम सामान्य रहेको शैक्षिक परामर्शदाताहरूको बुझाइ छ।

अस्ट्रेलियाको संघीय सरकारले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य अनुरूप नयाँ आप्रवासी नीति अघि सारको हो।-सबिन बराल/ratopati

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖