काठमाडौँ – वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारका लागि माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्थायी घर पाल्पा बग्नासकाली गाउँपालिका वडा नंं १ भई हाल काठमाडौँ बस्दै आएका ३० वर्षीय मायादेवी राना रहेकी छन्। उनलाई प्रहरीले काठमाडौँको स्वयम्भू पक्राउ गरेको हो।
माल्टा पठाउने सपना देखाएर ४३ लाख रुपैयाँ ठगेको उजुरी परेपछि ३० वर्षीया मायादेवीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
रानाले दिपक राज कँडेल समेतलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि ८ लाख रुपैयाँ लाग्छ र माल्टा पुगेपछि होटलमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनि प्रलोभनमा पारेकी थिइन्।
पटक पटक गरी ४३ लाख रुपैयाँ रकम लिएपछि उनी बेपत्ता भएकी थिइन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ।
यस्तै, चेक रिपब्लिक पठाउने भनी एक लाख ८० हजार रुपियाँ ठगी गर्ने स्थायी घर मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय विकास राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले चेक रिपब्लिक जान प्रतिव्यक्ति १३ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक लाख ८० हजार रुपियाँ मासिक तलब हुन्छ भनी दिवान गिरी समेतबाट सो रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
दुवै माथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
