• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् ललितपुरमा भेटिएका अनौठा चोर


  • धनकुटा खबर
  • .

काठमाडौं – संविधान दिवसको दिन कैद सजाय मिनाहा पाएर छुटेका व्यक्ति चोरी आरोपमा फेरि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले दोलखा घर भई भक्तपुरको निकोसेरा बस्ने रघुनाथ बस्नेतलाई पक्राउ गरेको हो। उनलाई भक्तपुरबाट पक्राउ गरेको एसएसपी शेखर खनालले जानकारी दिए।

उनले ललितपुरका विभिन्न ठाउँमा चोरी गरेको आरोप छ। उनले कात्तिक १५ गते सानेपाका तोपबहादुर थापाको घरमा बस्ने जर्मन नागरिक ड्यानिक फुच्सको कोठाबाट तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार नगद चोरी गरेको आरोप छ। भनिमण्‍डलस्थित उषा श्रेष्ठको घरमा बसेका नर्वेजियन नागरिक जेन्रिक सब्स टड्सरडको ३० हजार नगद र कपडाहरू चोरी भएको थियो।

यसैगरी, मंसिर १७ गते ललितपुर–२ सानेपामा डेरामा बस्ने सुप्रिया राईको कोठाबाट २० तोला सुनका गहना र ६३ तोला चाँदीका गहना चोरी भएको थियो।ललितपुर महानगरपालिका–३ झम्सिखेल बस्ने ठाकुरनाथ ढकालको घरमा चोरी गरेको आरोप उनीमाथि छ। रघुनाथले ठाकुरनाथको घरबाट पुस १ गते राति कोही नभएको बेला करिब २७ तोला सुनका गरगहना, करिब १५ तोला चाँदीका गहना, ३० हजार रुपैयाँ र ८२५ अमेरिकी डलर समेत चोरी गरेको आरोप छ।

एसएसपी खनालका अनुसार चोरी गर्नुअघि रघुनाथले ठाउँको रेकी गर्ने गरेका छन्। चोरी गर्न जाने दिन उनले छुट्टै एक जोर कपडा समेत बोक्ने गरेको अनुसन्धानबाट खुलेको छ। चोरी गर्न जानुअघि उनले एउटा कपडा लगाएर घरभित्र पसेपछि चोरी गरिसकेर त्‍यहाँबाट निस्किँदा अर्कै कपडा लगाएर फर्किने गरेका थिए ।

उनी चोरी गर्न जानेबेलामा साइकल चढ्थे। तर अनुसन्धान गर्दा आफू पक्राउ पर्न सक्ने हुँदा बाटोमै छाडेर जाने गरेको पनि खुलेको एसएसपी खनालले बताए। उनका अनुसार बस्नेत आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन्। जसले गर्दा आफू पक्राउ पर्न सक्ने आधारहरूबारे उनी जानकार रहेको देखिन्छ। उनले गर्ने कतिपय गतिविधिहरू प्रहरीको अनुसन्धान समेतलाई अलमलमा पार्ने खालका देखिएका छन्।

चोरी मुद्दामा मात्रै उनी ९ पटक पक्राउ परिसकेका छन्। उनीविरूद्ध अभद्र व्यवहार कसुरमा तीन पटकसहित १२ पटक मुद्दा चलिसकेको छ। विभिन्न कसुरमा उनलाई १२ वर्ष कैद सजाय भएको पाइएको छ। पछिल्लो पटक २०७७ सालमा दोलखाबाट चोरी कसुरमा मुद्दा चलेको थियो। बस्नेत गत संविधान दिवसमा कैद सजाय मिनाहा पाएर छुटेका थिए। जेलबाट छुटेर पनि उनले पुनः चोरीको काम थालेका थिए।-मोटिभेट न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖