• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बालाजु जलाधार क्षेत्रबाट ३ करोड लिटर पानी जमिनमुनि पठाइने


  • धनकुटा खबर
  • .

काठमाडौँ । बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनः भरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो ।

काठमाडौँ महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा प्रणाली विकास गरेको हो ।

रिचार्ज प्रणालीमा २१ वटा फिल्टर च्याम्बर, २१ वटा रिचार्ज इनार, दुईवटा डिसिल्टिङ चेम्बर, ७५ फिट अग्लो रिचार्ज ट्रेन्च र सातवटा बाँसका चेक ड्याम बनाइएको छ ।

निर्माण साझेदारले संयुक्त रुपमा शुक्रबार प्रणाली र यसको सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई हस्तान्तरण गरेका छन् ।

परियोजना बुझिसकेपछि उपप्रमुख डंगोलले, बालाजु क्षेत्रमा पानीको प्राकृतिक बहाव बढ्ने अपेक्षा व्यक्त गरिन् । ‘सहरमा पानीको अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा पानीको अभाव आउँछ । यसलाई सन्तुलन गर्न पानी पुनः भरण प्रणालीको प्रवर्धन गरिरहेका छौँ,’ उनले भनिन्, ‘काठमाडौँमा सबैभन्दा धेरै पानीको अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनः भरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’

कार्यक्रममा बोल्दै वाटर एडका नेपाल निर्देशक जेसम थोमस, बोटलिङ् इन्भेष्टमेन्ट ग्रुपका स्टेफिन यिपले स्वच्छ पानीको पहुँच बढाउन साझेदारीका थप काम गर्न सकिने उल्लेख गरे । यस्तै सेन्टर फर इन्टिग्रेटेड अर्वन डिभलपमेन्टका कार्यकारी निर्देशन नवीन महर्जनले पानी पुनः भरणका कार्यक्रम बढाउन थालेपछि सामाजिक सचेतना र सहभागिता बढ्न थाल्ने बताए ।

तीव्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गराउन यस प्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ ।

परम्परागत रुपमा काठमाडौँबासीले पानीका प्रमुख स्रोतका रुपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनः भरण हुने गर्थ्यो । जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो । पछिल्लो समयमा अत्यधिक भूमिगत पानी दोहन हुन थाल्यो । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गयो । जलवायु परिवर्तनका कारण वर्षा हुने समय र प्रक्रिया परिवर्तन भयो । पछिल्ला वर्षाहरू छोटो अवधिमा अधिक पानी पर्ने हुनाले प्राकृतिक रुपमा पानी पुनः भरणमा समस्या सिर्जना भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖