• Tuesday 6th of October 2026

करिब एक करोड ५० लाख टन लिथियम फेला


  • धनकुटा खबर
  • .

बैंकक । थाइल्यान्डले करिब एक करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले शुक्रबार बताएका छन् । उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवर्द्धन गर्नेछ ।

यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ तर यसलाई व्यावसायिकरूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग साइटको बीचमा एक करोड ४८ लाख टन लिथियम फैलिएको जानकारी दिए । “हामीले फेला पारेका स्रोतहरूबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेका छौँ, यसमा समय लाग्छ”, उनले भने ।

लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने बेट्रीहरूको निर्माणमा प्रमुख घटक हो । अगस्टमा सत्ता सम्हालेपछि प्रधानमन्त्री श्रेथा थाभिसिनको सरकारले मुलुकको परम्परागत कारहरू एसेम्बल गर्ने इतिहासलाई अगाडि बढाउँदै थाइल्यान्डलाई विद्युतीय सवारीका लागि क्षेत्रीय उत्पादन केन्द्रका रूपमा बढाउने प्रयासलाई प्राथमिकता दिएको छ ।

डाभोसमा विश्व आर्थिक मञ्चको बैठकका क्रममा श्रेथाले बोशका उपाध्यक्षसहित उद्योग क्षेत्रका नेताहरूसँग भेट गरे र थाइल्यान्डमा विद्युतीय सवारी उत्पादनमा लगानी गर्न आग्रह गरे । रुडक्लाओले लिथियम खोजका बारेमा भने, “यो राम्रो समाचार हो, यो थाइल्यान्डका लागि विद्युतीय सवारी बेट्रीको उत्पादनमा आत्मनिर्भर बन्ने एउटा अवसर हो ।”

सन् २०२३ डिसेम्बरमा दुई चिनियाँ दिग्गजले थाइल्यान्डलाई उत्पादन केन्द्रका रूपमा विकास गर्न दुई अर्ब ३० करोड भाट (छ करोड ४० लाख अमेरिकी डलर) लगानी गर्ने बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖