• Friday 9th of October 2026

आज न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आइतबार न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दैछ ।

देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली कम्तीमा सुपर सिक्स पुग्ने लक्ष्यका साथ दक्षिण अफि्रमामा छ । नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपाली युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने यो सबैभन्दा राम्रो अवसर हो । युवा टोलीले एसिया क्षेत्रमा एसोसिएटविरुद्ध आफ्नो क्षमता देखाइसकेका छन् ।

विश्वलाई देखाउने यो राम्रो अवसर हो । त्यसको लागि शानदार प्रदर्शनका साथ टेस्ट टोलीलाई हराउन वा कडा प्रतिस्पर्धा दिन आवश्यक छ ।

हाल यु-१९ टोलीमा रहेका अर्जुन कुमाल, देव खनाल र दीपेश कँडेललगायत नेपाली क्रिकेटको भविष्य मानिएका छन् । गुल्शन झाले नेपाली टोलीबाट आफ्नो पहिचान बनाएका छन् । यो प्रतियोगिताबाट उनीहरुबाहेक अरु खेलाडी पनि चम्किन सक्छन् ।

बाउन्सर र सट बल चुनौती

गत डिसेम्बरमा पाकिस्तान र अफगानिस्तानसँग यू-१९ एसिया कप खेल्दा युवा खेलाडीमा धैर्यता कमी, बाउन्स र सर्ट बलको सामना गर्न नसक्नुजस्ता कमजोरी देखिएका थिए ।

अर्कोतर्फ दक्षिण अफि्रका तीव्र गतिका बलरलाई बढी फाइदाजनक छ । पाकिस्तान र अफगानिस्तानले नेपालको कमजोरी बुझेका छन् । त्यसैले बाउन्सर र सट बल नेपाली ब्याटरलाई विपक्षीले टार्गेट गर्ने पक्का छ । कमजोरी सुधार गर्न सके अपेक्षा भन्दा धेरै राम्रो गर्न सक्छ ।

टेस्ट टोलीलाई फेरि हराउने अवसर

नेपालको सिनियर टोलीको हालसम्म टेस्ट टोलीलाई हराएको छैन । तर यू-१९ टोलीले विश्वकपमा दक्षिण अफि्रका, न्युजिल्याण्ड, पाकिस्तान, बंगलादेश र जिम्बावेलाई हराइसकेको छ । एसिया कपमा यू-१९ टोलीले भारतलाई पनि हराइसकेको छ ।

यू-१९ विश्वकपको प्रदर्शन हेरेर छनोटकर्ताले सिनियर र नेपाल ए टिमको लागि खेलाडीलाई बोलाउने छन् । हरेक खेलाडीको लागि यू-१९ विश्वकप निकै महत्वपूर्ण हुनेछ ।

नेपालको ब्याटिङ र बलिङ आक्रमण

ओपनरमा अर्जुन कुमाल र विपिन रावल छन् । विपिनलाई बायाँ हाते ओपनर हुँदा दायाँबायाँ हाते सन्तुलन मिलाउन खेलाउन सक्छ । विपिनको विकल्पमा दीपक बोहरा हुनेछन् ।

देव खनाल तेस्रो र उत्तम थापामगर चौथो नम्बरका दाबेदार हुन् । गुलशन झा पाँचौं नम्बरमा खेल्दै फिनिसरको भूमिका निर्वाह गर्न सक्छन् ।

नेपालले छैटौं नम्बरमा आकाश त्रिपाठीलाई खेलाउन सक्छ । उनी ब्याटिङ र तीव्र गति बलिङ गर्न सक्छन् । विशाल विक्रम केसी, दीपक डुम्रे र अर्का दीपक बोहरामध्ये एकले प्लेइङ-११ मा स्थान बनाउने छन् । स्पिन अलराउन्डर दीपेश कँडेल आठौं नम्बरमा खेल्न सक्छन् ।

नेपाल आकाश चन्द र दुर्गेश गुप्ता दुवैलाई तीव्र गतिका बलरमा खेलाउने देखिन्छ । यी दुईले तीव्र गतिको आक्रामणमा गुल्शनलाई साथ दिनेछन् । स्पिनर सुवास भण्डारी र तिलकराज भण्डारीमध्ये एक खेल्ने देखिन्छ ।

गत वर्ष आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा निर्णायक खेलमा नेपालले घरेलु टोली यूएईविरुद्ध अविश्वसनीय जित हात पारेको थियो । यूएईलाई जित्न ८ रन चाहिंदा स्पिनर दीपेश कँडेलले ह्याट्रिकका साथ नेपाललाई विश्वकपमा पुर्‍याएका थिए ।

नेपाली यू-१९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्शन झा, दिपेशप्रसाद कंडेल (विकेटकिपर), विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द ।

नेपालको खेल तालिका

माघ ७ (२१ जनवरी) आइतबार – नेपालविरुद्ध न्युजिल्यान्ड
माघ १० (२४ जनवरी) बुधबार – नेपालविरुद्ध पाकिस्तान
माघ १२ (२६ जनवरी) आइतबार – नेपालविरुद्ध अफगानिस्तान

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖