• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कुकुरले पुच्छर किन हल्लाउँछ ?


  • धनकुटा खबर
  • .

झट्ट हेर्दा, कुकुरले पुच्छर हल्लाउने कुरालाई सामान्य मानिन्छ र यो उसको सञ्चारको एक माध्यम पनि हो। तर, यो प्रक्रियाको विकासक्रम कसरी भयो भन्ने विषयमा वैज्ञानिकलाई थोरै मात्र जानकारी छ र यो विषयका कतिपय पक्ष अझै अनुत्तरित छन्।

विशेषगरी घरपालुवा कुकुरले अन्य कुकुर र मानिससँग सञ्चार सम्पर्क स्थापना गर्दा पुच्छरको प्रयोग गर्ने गर्छन् र फरक-फरक तरिकाले पुच्छर हल्लाउँदा त्यसको अर्थ पनि छुट्टाछुटै रहने गर्छ। कुकुरले किन पुच्छर हल्लाउँछ र यसमा उसको कति नियन्त्रण रहन्छ भन्ने विषयमा हालै सार्वजनिक गरिएको एक समीक्षात्मक अध्ययनले नयाँ तथ्य सार्वजनिक गरेको छ।

बेलायतको दी रोयल सोसाइटीले प्रकाशित गर्ने बायोलोजी लेटर्स नामक अनलाइन प्रकाशनमा बुधबार सार्वजनिक गरिएको अध्ययनमा अनुसन्धानकर्ताले पुच्छर हल्लाउनुलाई कुकुर खुसी रहेको मात्र मान्न नसकिने र यो जटिल विषय रहेको बताएका छन्।

‘मानिसले जनावरको विभिन्न आनीबानी हरेक दिन देख्ने गर्छन् र यसमध्ये कुकुरले पुच्छर हल्लाउने एक सामान्य घटना हो। तर कुकुरको कतिपय व्यवहार अझै वैज्ञानिक रहस्यको विषय बनेकोछ,’ अध्ययनमा सहभागी इटालीको तुरिन विश्वविद्यालयकी जीववैज्ञानिक सिल्भिया लिओनेटी भन्छिन्।

उनी र अन्य तीन वैज्ञानिकले कुकुरले पुच्छर हल्लाउने विषयसँग यसअघि भएका अध्ययनको नतिजा र अझै रहस्यमा रहेका विषयमा थप अनुसन्धान गरेका थिए। शोधकर्ताका अनुसार पुच्छर हल्लाउने क्रियाले लय अथवा तालको मानवीय आवश्यकता पूरा गरेको हुन्छ र यो आनीबानी आनुवंशिक पनि हुन सक्छ।

ह्वेल माछाले पुच्छर हल्लाएर आफ्नो गति बढाउँछ भने घोडाले पुच्छर हल्लाएर किरा तथा माखा भगाउने गर्छ तर कुकुरले यो प्रक्रियामार्फत अधिकांश रूपमा सञ्चारको प्रयोग गर्छ। कुकुरले पुच्छर हल्लाउने क्रममा कति मात्रामा पुच्छर ठड्याउँछ, देब्रे अथवा दाहिने कुन दिशामा हल्लाउँछ भन्ने कुराको पनि आफ्नै अर्थ रहेको हुन्छ।

उदाहरणका लागि, दाहिनेतर्फ पुच्छर हल्लाएमा कुकुरले कुनै कुरा गर्न चाहेको र उत्तेजनामा रहेको मानिने शोधकर्ताको ठम्याइ छ। यसैगरी देब्रेतर्फ पुच्छर हल्लाएमा यसले अनिश्चितता र गर्न चाहेको कुराबाट पछि हट्न चाहेको मानिएको छ। यसैगरी पुच्छरलाई तल र खुट्टाको नजिक हल्लाएमा यसले असुरक्षा र समर्पणलाई संकेत गरेको वैज्ञानिक ठहर छ।

तर, यी प्रस्ट देखिने व्यवहारमा पनि अनेकन् प्रश्न छन्। जस्तै, पुच्छर हल्लाउने कार्यमा सचेतनात्मक रूपमा कुकुरको कति नियन्त्रण रहन्छ भन्ने विषयमा अझै प्रस्टता छैन। कुकुरको नजिकको नातेदार मानिने ब्वाँसोले भन्दा कुकुरले धेरै पुच्छर किन हल्लाउँछ भन्नेमा अझै वैज्ञानिक अनुत्तरित छन्।

घरपालुवाले लयात्मक हिसाबले पुच्छर हल्लाउने अवधारणाअन्तर्गत मानिसको दिमागले लय अथवा तालप्रति सकारात्मक प्रतिक्रिया दिएझैं कुकुरले पुच्छर हल्लाउने कार्य पनि त्यस्तै लयात्मक आनीबानी भएको वैज्ञानिक राय छ।

यसैगरी मानिसले बढी पुच्छर हल्लाउने कुकुरप्रति जानी–नजानी बढी रुचि राख्ने भएकाले कुकुरले सोही प्रकारको प्रतिक्रिया दिएको हुन सक्ने अर्काे तर्क छ।

यसैगरी घरपालुवा लक्षण अवधारणा (डोमेस्टिकेसन सिन्ड्रोम हाइपोथेसिस) का अनुसार खास आनीबानी आनुवंसिक रूपमा प्रसारण हुने गर्छन्।

तर भिक्टोरिय विश्वविद्यालयका जीवशास्त्री टोम रैमचेन यी दुवै अवधारणा पर्याप्त नभएको ठान्छन्। उनका अनुसार अन्य कुकुर प्रजातिभन्दा घरपालुवा कुकुरले पुच्छर बढी हल्लाउँछन् भन्ने र यो गुण आनुवंशिक रूपमा प्रसारण हुन्छ भन्ने दुवै अवधारणा प्रमाणित गर्न थप अध्ययन आवश्यक छ।

अध्ययनमा सहभागी रहेका लिओनेटी यो विषयमा निष्कर्षमा पुग्न बहुआयामिक अध्ययन आवश्यक रहेको स्वीकार गर्छन्। यसमा न्युरोलोजी, अनुभूति र शरीर विज्ञानका आयामहरू थपिनुपर्ने उनको तर्क छ।

जनावरलाई घरपालुवा बनाउने विषय पनि उद्धविकासको एक प्रक्रिया रहेको र यसमा मानिसको मुख्य हात रहेको कारणले कुकुरको आनीबानीको अध्ययनले मानिसको आनीबानीका नयाँ पक्षसमेत उजागर हुन सक्ने उनी ठान्छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖