• Tuesday 6th of October 2026

इटालीका कीर्तिमानी गोलकर्ता रिभाको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । इटालियन राष्ट्रिय फुटबल कीर्तिमानी गोलकर्ता लुइगी रिभाको ७९ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण सोमबार राति उनको निधन भएको समाचारमा जनाइएको छ ।

रिभाले सन् १९६५ देखि १९७४ सम्म इटालीको राष्ट्रिय टोलीबाट खेलेका थिए । आफ्नो समयका प्रभावशाली स्ट्राइकर रिभाले लामो समय इटालियन क्लब क्याग्लियारीबाट ब्यवसायीक फुटबल पनि खेलेका थिए ।

GCI COLLEGE
अन्तर्राष्ट्रिय फुटबलमा ‘रोर अफ थन्डर’ उपनामले चर्चित रिभाले आफ्नो सक्रिय खेलजीवनमा इटालीका लागि ४२ खेल खेल्दै ३५ गोल गरेका थिए । उनले सन् १९६८ मा इटालीलाई युरोपियन च्याम्पियनसिपको उपाधि पनि चुमाएका थिए ।

त्यसको दुई वर्षपछि उनले इटालीलाई विश्वकपको फाइनलमा पनि पु¥याएका थिए । सन् १९७० मा क्याग्लियारीलाई इटालियन सिरिएको उपाधि चुमाउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । क्याग्लियारीले हालसम्म जितेको त्यो एकमात्र सिरिए उपाधि हो ।

रिभाको निधनको समाचार सार्वजनिक भएपछि उनको पूर्वक्लब क्याग्लियारीले श्रृद्धाञ्जली ब्यक्त गर्दै भनेको छ, ‘तिमी हाम्रो हृदयमा सधैं जिवित रहने छौ, गिगी रिभा ।’ इटालियन फुटबल महासंघका अध्यक्ष्यक्ष ग्याब्रियल ग्राभिनाले पनि रिभाप्रति श्रृद्धाञ्जली ब्यक्त गरेका छन् ।

‘रिभा राष्ट्रको सच्चा नायक हुन् । तिमीले देशलाई लगाएको गुन हामी कहिल्यै भुल्ने छैनौं,’ महासंघका अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ । इटालियन फुटबलले रिभाप्रति सम्मान ब्यक्त गर्न साताभरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने र कुनै पनि खेल सुरु हुनुअघि उनीप्रति श्रृद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

रिभाको निधनको खबर सार्वजनिक हुँदा साउदी अरेबियाको रियादमा नापोली र इन्टर मिलानबिच इटालियन सुपर कपको फाइनल खेल चलिरहेको थियो । उक्त खेलको दोस्रो हाफमा रिभाप्रति श्रृद्धाञ्जली ब्यक्त गर्ने एक मिनेट मौन धारण गरिएको थियो । सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि रिभाले प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖