• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु


  • धनकुटा खबर
  • .

जियालाल साह,वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह संलग्न नागरिकता किर्तेको अनुसूची कागजात जिल्ला प्रशासन कार्यालयबाटै गायब बनाइएको खुलेको छ । नागरिकता किर्तेबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले गठन गरेको छानबिन समितिले आफूले पाएको अनुसन्धान अवधिमा अनुसूची प्रशासनको अभिलेखमा नपाएपछि सो निष्कर्षमा पुगेको हो ।

किर्ते नागरिकताको अनुसूची बाहेकको सबै कागजात भेटिएको छानबिन समितिका संयोजक एवम् पर्साका साहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । ‘अनुसूचीबाहेकका सबै कागजात भेटिएका छन्,’लम्सालले सिधाकुरासंग भने,‘अनुसूची पनि खोज्ने काम जारी छ, अनुसूची हराउनुमा संदिग्धहरु पनि अब छानबिनको दायरामा परेका छन् ।’

जिल्ला प्रशान कार्यालय स्रोतकाअनुसार नागरिकताको मूल अभिलेखको फाइल हराएपछि शंकास्पद ४ जना कर्मचारीहरुलाई जिम्मेवारी मुक्त गरिएको छ । नागरिकताको अभिलेखको रेखदेख र नजिकहरुलाई जिम्मेवारी मुक्त गरेर प्रशासनले स्पष्टीकरण माग गरेको छ ।

‘केही संदीग्धलाई जिम्मेवारीबाट मुक्त गरेर थप अनुसन्धान गरिरहेका छौं,’ प्रशानसन स्रोतले भन्यो, ‘नागरिकता किर्तेमा संलग्नमाथि त छानबिन हुन्छ नै अब सरकारी अभिलेखको कागजात गायब बनाउनेहरु पनि अनुसन्धानको दायरामा तानिएका छन् ।’

वीरगंजका मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई किर्तेगरी नागरिकता बनाईदिएको खुलासा सिधाकुराले गरेको थियो । सो प्रकरणमा छानबिन गर्न २७ पुसमा सहायक प्रमुख जिल्ला अधिकारी लम्साल नेतृत्वमा समिति गठन भएको थियो ।

मेयर सिंहको किर्ते उजागर भएपछि उनलाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालयमा १६ वटा जाहेरी परेको थियो । यस्तै, प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी, राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रहरी कार्यालय पर्सामा पनि उजुरी दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साकाअनुसार नागरिकता किर्ते प्रकरणमा नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन प्रशासकीय अधिकृुत षड्कुमार पोखरेल, प्रतिलिपि नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, वडाबाट सिफारिस गर्ने तत्कालीन वडा सदस्य तुफैल अख्तर ठकुराईको भुमिका संकास्पद देखिएको छ । यसअघि पर्साका प्रमुख जिल्ला अधिकारी र हाल सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव उमेशकुमार ढकाल र प्रतिलिपि शाखामा रहेका कर्मचारीहरुको भुमिका संकास्पद देखिएको छ । -सिधाकुरा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖