• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

गेस्टहाउसको काम भन्दै बालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा धनकुटाका महिला काठमाडौबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । गेस्टहाउसको काम भन्दै बालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

धनकुटाको छथर जोरपाटी गाउँपालिका– १ घर भई दोलखा भिमेश्वर नगरपालिका–९ बस्ने लालमाया तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

उनले काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। साथै उक्त ब्यूरोबाट खटिएको प्रहरीले दुई जना बालिकाहरूको उद्धार समेत गरेको छ।

आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, सुरुमा वेटरको काममा लगाउने र केही समयपछि ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖