• Tuesday 6th of October 2026

यी हुन् इन्स्टाग्राममा सबैभन्दा धेरै लाइक गरिएका १० पोस्ट


  • धनकुटा खबर
  • .

एक तथ्यांक अनुसार लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्राममा प्रयोगकर्ताहरुले हरेक दिन साढे ९ करोड पोस्ट हेर्दछन् । तर, तीमध्ये सबैभन्दा धेरै मन पराइएका पोस्टहरु कुन होलान् ?

इन्स्टाग्राममा अहिलेसम्मै सबैभन्दा धेरै लाइक पाएको पोस्ट कुन हो र त्यसलाई कतिले लाइक गरेका छन् ? यी हुन् सबैभन्दा धेरै मन पराइएका इन्स्टाग्रामका शीर्ष १० पोस्ट :

१. विश्वकप फुटबल जितेको खुसी मनाइरेका मेसी : ४२ करोड ४० लाख फलोअर्स भएका मेसीले सन् २०२२ को डिसेम्बरमा गरेको उक्त इन्स्टाग्राम पोस्टमा हालसम्म ७ करोड ५५ लाख भन्दा धेरै लाइक्स प्राप्त भैसकेका छन् ।

२. अण्डाको तस्वीर : World Record Egg नामक इन्स्टाग्राम अकाउन्टबाट पोस्ट गरिएको एउटा अण्डाको तस्वीर इन्स्टाग्राममा हालसम्मकै दोस्रो धेरै लाइक्स प्राप्त गर्ने पोस्ट हो । सन् २०१९ को जनवरी ४ मा पोष्ट गरिएको यो पोस्टमा हालसम्म ६ करोडभन्दा धेरै लाइक्स प्राप्त भएका छन् ।

३. विश्वकप ट्रफीसँग सुतिरहेका मेसी : सन् २०२२ को कतार विश्वकप फुटबलको उपाधि जितेसँगै अर्जेन्टिनी कप्तान लियोनेल मेसीले उक्त विश्वकप ट्रफीलाई सँगै राखेर मज्जाले सुतिरहेको तस्वीर आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरे । सन् २०२२ को डिसेम्बर २० मा गरिएको उक्त पोस्ट हालसम्म ५ करोड ४६ लाखभन्दा धेरैले लाइक गरिसकेका छन् ।

४. चेस खेलिरहेका रोनाल्डो र मेसी : पोर्चुगिस विश्वप्रसिद्ध फुटबलर तथा लियोनेल मेसीका प्रतिस्पर्धी समेत रहेका क्रिस्टियानो रोनाल्डोको एउटा इन्स्टाग्राम पोस्ट हालसम्मकै सर्वाधिक लाइक्स प्राप्त गर्ने पोस्टको सूचिमा चौथो स्थानमा छ ।

लियोनेल मेसीसँग चेस खेलिरहेको तस्वीरलाई उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सन् २०२२ को नोभेमबर १९ मा अपलोड गरेका थिए । यो इन्स्टाग्राम पोस्टमा हालसम्म ४ करोड २६ लाखभन्दा धेरै लाइक्स प्राप्त भैसकेका छन् ।

५. विश्वकप ट्रफीसँगै जहाजमा मख्ख परेका मेसी : इन्स्टाग्राममा मेसीले जे पोस्ट गर्छन् त्यो भाइरल नबनी कहाँ छाड्छ र ? अझ विश्वकप जितेको छेकोमा उनका हरेक इन्स्टाग्राम पोस्ट विशेष नबन्ने कुरै भएन ।

मेसीले विश्वकप फुटबलको उपाधि जितेपछि कतारबाट अर्जेन्टिना फर्किंदा उक्त ट्रफीसाथ जहाजभित्र खिचेको तस्वीर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सन् २०२२ डिसेम्बर १९ मा पोस्ट गरेका थिए । उक्त इन्स्टाग्राम पोस्ट हालसमम ४ करोड १९ लाख भन्दा धेरैपटक लाइक गरिसकिएको छ ।

६. अमेरिकी र्‍यापरको अन्तिम पोस्ट : अमेरिकी र्‍यापर XXXTentacion ले आफ्नो जीवनमा अन्तिम पटक गरेको आफ्नो उल्टो तस्वीरसहितको इन्स्टाग्राम पोस्ट सबैभन्दा धेरै लाइक्स पाउने सूचिको सातौं स्थानमा छ ।

सन् २०१८ को मे २० मा गरिएको उक्त पोस्टमा हालसम्म तीन करोड २४ लाखभन्दा धेरै लाइक प्राप्त भैसकेका छन् । उनको सोही वर्ष जुन १८ मा गोली हानी हत्या गरिएको थियो ।

७. गर्भवती पत्नीसँग रोनाल्डोको बेडरुम तस्वीर : जुम्ल्याहा बच्चा गर्भमा हुर्काइरहेकी आफ्नी पत्नी जर्जिनासँग बेडरुममा खिचेको तस्वीर क्रिस्टियानो रोनाल्डोले सन् २०२१ को अक्टोबर २८ मा इन्स्टाग्राममा पोस्ट गरे । उनको उक्त इन्स्टाग्राम पोस्टले हालसम्म ३ करोड २३ लाख लाइक्स प्राप्त गर्न सफल भैसकेको छ ।

८. पेलेसँग रोनाल्डो : विश्व फुटबलका महान हस्ती पेलेसँगको आफ्नो एउटा तस्वीर क्रिस्टियानो रोनाल्डोले सन् २०२२ को डिसेम्बर ३० मा पोस्ट गरे ।

पेलेको मृत्युपछि उनको स्मरणमा रोनाल्डोले गरेको उक्त इन्स्टाग्राम पोस्ट हालसम्म तीन करोड २२ लाखभन्दा धेरैले लाइक गरिसकेका छन् ।

९. विश्वकप सेमीफाइनलमा मेसीको खुसी : विश्वकप फुटबलको सेमीफाइनलमा क्रोएसियाविरुद्ध उत्कृष्ट जित हात पार्ने क्रममा ह्याट्रिक गरेका आफ्ना टिममेट जुलियन अल्भारेजले ३५ मिनेटमा गरेको गोल पश्चात् उनै अल्भारेजसँग खुसी मनाइरहेको तस्वीर मेसीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सन् २०२२ को डिसेम्बर १४ मा पोस्ट गरे । उक्त पोस्ट हालसम्म २ करोड ९६ लाखभन्दा धेरैले लाइक्स गरिसकेका छन् ।

१०. साउदीमा रोनाल्डोको भव्य स्वागत : साउदी फुटबल क्लब अल नासेरसँग सम्झौता गरी साउदी अरबमा क्लब फुटबल खेल्न पुगेका क्रिस्टियानो रोनाल्डोलाई मैदानमा अल नासरका फ्यानहरुले भव्य स्वागत गरे ।

उक्त तस्वीर रोनाल्डोले सन् २०२३ को जनवरी ४ मा आफ्नो इन्स्टाग्राममा पोस्ट गरे । सर्वाधिक लाइक्स पाउने दशौं पोस्ट बनेको उक्त इन्स्टाग्राम पोस्टमा हालसम्म करीब २ करोड ७९ लाख लाइक्स प्राप्त भैसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖