• Tuesday 6th of October 2026

‘शाम्बाला’का लागि ३ महिना नुहाएनन् सोनम, १५ केजी दुब्लाए


  • धनकुटा खबर
  • .

फिल्म ‘सम्हालिन्छ कहिले मन’मा काम गर्दा नायक सोनम तोप्देनलाई अधिकांशले चकलेटी हिरोको रुपमा चिनेका थिए । यो फिल्मको व्यापार औसत भएपनि सोनमको कामले भने सर्वत्र चर्चा पायो । सोनमलाई अब नेपाली फिल्म क्षेत्रको नयाँ स्टारको रुपमा पनि धेरैले बुझे ।

तर, यसपछि सोनमको सोच र काम गर्ने शैली बदलियो । विगत ५ बर्षदेखि उनको दिमागमा भने ‘चिसो बर्ष’ नामक फिल्म नै घुमिरहेको थियो । निर्देशक मीन बहादुर भामले फिल्ममा सोनमलाई अफर गरेपछि उनको दिमाग यसैको कथामा घोत्लिएको थियो । मीनले पनि फिल्मको कथा लेख्न ८ बर्ष लगाए ।

काम सुरु गर्दा ‘चिसो बर्ष’ नाम राखेपनि अहिले मीनले नाम बदलेर ‘शाम्बाला’ राखेका छन् । यो फिल्म अहिले विश्व प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धातर्फको छनोट हुने पहिलो नेपाली फिल्म बनेको छ । यो फिल्म फेस्टिभलको ७४ औं सँस्करणतर्फ ‘अन्तराष्ट्रिय फिल्म’को विधामा फिल्म छनोट भएपछि सोनम उत्साहित छन् । उनी, फेब्रुअरीमा बर्लिन जाने तयारीमा समेत छन् ।

एकातिर, फिल्मले विश्वकै प्रतिष्ठित फेस्टिभलमा उपस्थित जनाउँदै गर्दा सोनम खुशी छन् । अर्कातिर, यो फिल्मलाई पर्दासम्म ल्याउनका लागि उनी र उनको टिमले गरेको दुःख अर्कै छ ।

सन् २०२२ को फेब्रुअरीबाट बल्ल फिल्मको वर्कशप सुरु भएको सोनम सम्झन्छन् । यो फिल्मको वर्कशपका लागि सोनम र अन्य कलाकारले २ महिना हिमाली भेगमा नै गुजारे ।

यो फिल्मका लागि सोनमले ५ वटा नाम चलेका ब्यानरका फिल्मलाई समेत अस्विकार गरेका छन् । चकलेटी हिरोको रुपमा उदाएका सोनमको काम गर्ने तरिका र गेटअप पुरै बदलियो । उनी, चिसो स्थानमा पुगेर मीनको निर्देशनमा आफूलाई समाहित गर्न तयार भए ।

यो फिल्मका लागि सोनमले लामो कपाल समेत पालेका छन् । फिल्ममा उनी मुख्य पात्रको श्रीमान्को भूमिकामा छन् । मेरो फिल्मसँग कुरा गर्दै सोनमले भने–‘यो फिल्मका लागि मैले ३ महिनासम्म नुहाएको थिइनँ । कपालमा पुरै जुम्रा परेर बिजोग भएको थियो । तर, फिल्मको छायांकनका लागि जम्मा २८ दिन मात्र लाग्यो । हामीले वर्कशप नै लामो समय गरेकाले पुरै स्क्रिप्ट नै कन्ठ थियो ।’

यो फिल्मका लागि सोनमले १५ केजी तौल समेत घटाएका थिए । सोनम काम गर्दाको क्षण संझदै भन्छन्–‘ सन् २०२२ को मे महिनाबाट फिल्मको छायांकन सुरु भएको थियो । यार्सागुम्बा टिप्न आएका ३ जना मानिसहरूको निधन भएको हामीले छायांकनका क्रममा नै देखेका थियौँ । निकै चिसोले फिल्मका युनिटका अधिकांश सदस्यहरू बिरामी भएका थिए ।’

यो फिल्मले मीनले हिमाली भेगकी गर्भवती महिला पेमाले व्यापारका लागि ल्यासातिर हराएका आफ्ना पतिको खोजीका क्रममा गरेको संघर्षलाई पेश गरेका छन् । फिल्ममा सोनम पेमाको माइलो श्रीमान्को भूमिकामा छन् ।

फिल्मको छायांकनका क्रममा निकै गाह्रो भएपनि अहिले उत्कृष्ट प्रतिक्रिया पाउँदा सोनम दंग छन् । -विजय सुवेदी ‘आवाज’/मेरो फिल्म

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖