• Friday 16th of October 2026

मीनबहादुर गुरुङ पक्राउ पर्दा चुपचाप बसेको निजी क्षेत्रले विनोद चौधरीका भाइ पक्राउ पर्दा रोइलो गर्योः सुवोध शेर्पाली


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल ) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्दा चुपचाप बसेको निजी क्षेत्रले विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ पर्दा रोइलो गरेको टिप्पणी गरेका छन् ।

पक्राउको पर्नुको कारण के हो ? किन पक्राउ परे ? केही नबुझी हतारमा सक्रिय हुने एफएनसीसीआई र सीएनआईको चर्तीकला अत्यन्तै पुर्वाग्राही र संकीर्ण मनोदशाले ग्रसित रहेको उनको भनाइ छ ।

‘नेपाली व्यापारी, अझ पुराना तरकारी व्यापारी भने समेत चिनिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ जो बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका थिए । उनी पक्राउ पर्दा चुपचाप बसेका ठूला घराना भनेर आफूलाई देखाउने व्यापारीहरुको महासंघ अर्बपती व्यापारी बिनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ पर्दा क्षणभरमै पत्रकार सम्मेलन गरेर रोइलो गर्न भ्याएछन्,’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

केही समय पहिला मेडिकल व्यापारी दुर्गा प्रसाईंले सार्वजनिक रूपमा ‘केही पहुँचवाला व्यापारीको वरिपरि अर्थतन्त्र छ, उनीहरू देश दुबाउँदैछन्’ भनेर अभिव्यक्ति दिएको स्मरण गराउँदै अध्यक्ष शेर्पालीले प्रसाईँको भनाइ सत्यनै हो कि जस्तो लागेको बताएका छन् ।

गल्ती गर्नेहरू सजायको भागेदार हुनैपर्ने भन्दै उनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सुशासनको पक्षमा कदम अझै अगाडि बढाउनसमेत सुझाव दिएका छन् । शक्ति र चलखेलका आधारमा नभएर गलत पुष्टि भएको प्रमाण हेरेर हदैसम्मको कानुनी कारबाहीको उनले माग गरेका छन् । राज्यको सम्पत्ति हिनामिना गरेर कानुनी रूपमा उन्मुक्ति पाउने कोसिस नगर्न उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖