काठमाडाैँ । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयका अनुसार पवित्र सहर मक्कामा अश्लीलताको आरोपमा एक बंगलादेशी पुरुष र एक महिलालाई मृत्युदण्ड दिइएको छ ।
साउदी अरबको सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ (एसपीए)ले त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै जनाए अनुसार नजरुल इस्लाम अब्दुल शीर र सिती अख्तरले मक्काको एक मस्जिदमा अश्लील कृत्य गरेका थिए ।
साउदी अधिकारीहरुले अश्लील कृत्य कस्तो थियो भन्ने खुलाएका छैनन् । यो घटना कहिले भएको हो र मृत्युदण्डको खिलाप कहिले पुनरावेदन भएको हो भन्ने पनि खुलाइएको छैन ।
एक साउदी अधिकारीका अनुसार सुरक्षा अधिकारीले दुवैलाई गिरफ्तार गरेर सम्बन्धित अदालतमा पेस गरेका थिए । मन्त्रालयका अनुसार अदालतले दुवैमाथि लागेका आरोप साबित भएको भन्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।
जेद्दास्थित बंगलादेशको वाणिज्य दूतावासका अनुसार उनीहरुलाई मृत्युदण्ड दिनुअघि यसबारे औपचारिक सूचना दिइएको थिएन । दूतावासले साउदी अधिकारीसँग यसबारे औपचारिक पुष्टि माग गरेको छ ।
साउदी अरबको आन्तरिक मामिला मन्त्रालयका अनुसार अदालतले विषयको गम्भीरता, मस्जिदको पवित्रताका विरुद्ध गरिएको कृत्य र त्यससँग सम्बन्धित परिस्थितिलाई मध्यनजर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । मन्त्रालयका अनुसार तल्लो अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन भएकोमा सर्वोच्च अदालतले समेत मृत्युदण्डको सजाय कायम गरेको थियो ।
साउदी अरबको आन्तरिक मन्त्रालयका अनुसार मृत्युदण्डको सजाय ‘ताजीर’ अन्तर्गत दिइएको हो । ‘ताजीर’ कुनै खास कानुन नभएर इस्लामिक कानुनमा दण्डको एक श्रेणी हो, जसमा न्यायाधीशले अपराधको प्रकृति तय गर्ने र सजाय निर्धारण गर्न विवेकाधिकार प्राप्त गर्छन् । ताजीर अन्तर्गत औपचारिक चेतावनी या जरिबानादेखि लिएर कारावाससम्मको सजाय दिइन्छ । केही खास परिस्थितिमा भने यस अन्तर्गत मृत्युदण्ड पनि दिइन्छ ।
