मुम्बई । अभिनेत्री अंकिता लोखंडेले एक अन्तर्वार्ताका क्रममा आफ्नो फोनबाट इन्स्टाग्राम डिलिट गर्नुपरेको बताएकी थिइन् । अभिनेत्रीले बिग बोस छोडेपछि इन्स्टाग्राम आफ्नो लागि निकै तनावपूर्ण भएको बताएकी हुन् ।
उनले भनिन्, ‘बिग बोसबाट आएपछि म निकै अनौठो भएकी छु । यो भन्दा राम्रो त म मेरो घरमा थिएँ। यसअघि विक्की र मबिच झगडा नभएको होइन, तर ती कुराहरू यसरी मेरो ध्यानमा आएनन् ।’ सामाजिक सञ्जालको ट्रोलिङबाट बच्न उनले आफ्नो फोनबाट इन्स्टाग्राम डिलिट गरेको खुलाइन् ।
उनको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा अंकिताले बिग बोसबाट बाहिरिएपछि आफ्नो जीवनमा धेरै परिवर्तन भएको बताइन् । धेरै सोच्न थालेको र यसअघि आफू यस्तो नभएको उनी बताएकी छिन् ।
अंकिताले इन्स्ट्यान्ट बलिउडसँगको अन्तर्वार्तामा पति वाक्की जैनसँगको आफ्नो सम्बन्धको बारेमा पनि कुरा गरेकी छिन् । उनले आफू र विक्कीबिच सबै ठीकठाक रहेको बताए । ‘अरूले जे भने पनि हामी एक अर्काको साथमा छौँ, एकअर्कालाई बुझ्दै छौँ। मेरो लागि यो सबै महत्त्वपूर्ण छ, अरू मानिसहरूले जे चाहन्छन् सोच्न दिनुहोस्,’ उनले भनिन् ।
अंकिता आगामी फिल्ममा रणदीप हुड्डासँग देखिँदै छिन् । केही दिन अघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो क्लिप सेयर गर्दै अंकिताले लेखेकी थिइन्– इतिहासको पानाबाट हराएको नेताको कथा ल्याउँदैछु । बिग बोस १७ पछि चाँडै एक नयाँ अध्याय सुरु हुन गइरहेको छ । यो धेरै विशेष महसुस भइरहेको छ। आनन्द पण्डित, जी स्टुडियोको फिल्ममा रणदीप हुड्डासँग यस परियोजनाको हिस्सा हुन पाउँदा कृतज्ञ छु। यसलाई २२ मार्च २०२४ मा तपाईं नजिकैका थिएटरहरूमा हेर्न नबिर्सनुहोस्।’
