• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कुवेतविरुद्ध सीताले लिइन् ह्याट्रिक


  • धनकुटा खबर
  • .

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलमा कुवेतविरुद्ध नेपालकी अनुभवी अलराउन्डर सीता राना मगरले ह्याट्रिक गरेकी छिन् ।

वाईएसडी ओभल मैदानमा नेपालले टस हारेर पहिले बलिङ गर्ने क्रममा सीताले आफ्नो दोस्रो ओभरमा लगातार तीन विकेट लिएर ह्याट्रिक गरेकी हुन् ।

नेपालसामु कुवेतले कमजोर ब्याटिङ गरेको छ । अघिल्लो दिनमात्र माल्दिभ्समाथि कीर्तिमान बनाएको नेपाली टिमको मनोबल उच्च रहेको छ ।

नेपाल समूह चरणमा अपराजित रहदै समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।

त्यसैगरी समुह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो ।

अर्को क्वार्टरफाइनलमा मलेसिया र जापान खेलिरहेका छन् ।

यता थाइल्यार यूएई सेमिफाइनलमा पुगेका छन् । थाइल्याण्डले बिहान भएको खेलमा हङकङलाई ३ विकेटले हरायो ।

यूएईले इन्डोनेसियालाई ५५ रनले पराजित गर्यो ।
१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, यूएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् । त्यसैगरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

माल्दिभ्समाथि नेपालको कीर्तिमानी जित, के के बने रेकर्ड ?
एसीसी महिला प्रिमियर लिग टी–२० क्रिकेटको तेस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको हो ।

मलेसियाको क्वालालाम्पुरमा नेपाल २१४ रनको फराकिलो अन्तरले विजयी भएको हो । यो जित अहिलेसम्मकै फराकिलो जितको कीर्तिमान हो ।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २२७ रन बनायो । यो टी–२० मा नेपालले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो । नेपालका लागि पूर्व कप्तान रुबिना क्षेत्री बेल्बासीले ५९ बलमा अविजित रहँदै कीर्तिमानी ११८ रन बनाइन् ।

यो कुनै पनि नेपाली महिला क्रिकेटरको पहिलो शतक हो । सो क्रममा उनले ५ छक्का प्रहार गरिन् । अहिलेसम्म एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने पनि रुबिना पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

त्यस्तै पूजा महतोले ३६ बलमा अविजित रहँदै ५९ रन जोडिन् । पाँचौँ विकेटका लागि रुबिना र पूजाले ८२ बलमा अविजित १६६ रनको कीर्तिमानी साझेदारीसमेत गरेका छन् । अहिलेसम्म कुनै पनि विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो ।

जवाफमा माल्दिभ्सले १३.५ ओभरमा अलआउट हुँदै १३ रनमात्र बनाउन सक्यो । कप्तान सुमयाबिन्थ ए हमीदले सर्वाधिक ५ रन बनाएको इनिङ्समा ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा अलराउन्डरद्वय रुबिना र पूजाले ३–३ विकेट लिए ।

नेपाल समूहका सबै खेल जितेर समूह विजेता बन्दै क्वार्टरफाइनल पुगेको हो । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖