• Tuesday 6th of October 2026

कँडेल र शर्मिला गुरुङबिचको लफडा के हो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा गायिका शर्मिला गुरुङको एक भिडियो भाइरल छ । भिडियोमा गुरुङले लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलबाट आफू मानसिक हिंसाको शिकार भएको आरोप लगाएकी छन् ।

गुरुङले बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनसहित भिडियोमा इन्द्रेणी कार्यक्रममा आफूमाथि भएको मानसिक हिंसा खोलेकी हुन् । उनले घरमै लिन गएका कारण इन्द्रेणी कार्यक्रम ज्वाइन भएको समेत बताएकी छन् ।

‘मेरो इन्द्रेणीमा रहेको कार्यक्रम अहिले पनि युट्युबमा हेर्न सकिन्छ । मेरो करियर अझै बिग्रिएको छैन’, शर्मिलाले भनिन्, ‘इन्द्रेणीबाट पनि मलाई विश्वभरि चिन्नु भएको छ । यो राम्रो हो ।’ स्वर राम्रो हुँदा कार्यक्रम चलाएको, नाच्ने गाउने गरेको बताएकी उनले पछिल्लो चरणमा मानसिक टर्चरको कारण स्वर सुकेको बताएकी छन् ।

‘म मानसिक टर्चरका कारण घरमा बस्थे । घरमा सबैले इन्द्रेणी किन नगएको भन्थे’, शर्मिलाले अगाडि भनिन्– ‘मैले के भन्ने, त्यहाँ मलाई हेप्छन् भनेर कसरी भन्ने । म गीत गाउने मानिसलाई नाच्न लगाइन्छ ।’ स्टेज कार्यक्रममा पनि पक्षपात गरेर आफूलाई कहीँ नलगेको उनको आरोप छ ।

‘स्टेज कार्यक्रमको ४, ५ लाख आफैले डिल गर्‍यो । आफैले मिलाएको कार्यक्रममा आफै सहभागी हुन नपाउने’ उनले भनिन् । गुरुङले थपिन्, ‘आयोजकले भने मलाई ठुलो पल्टिएको, किन कार्यक्रममा नआएको भनेर थर्काउँछन् । यताबाट लाँदैनन् ।’ शर्मिलाले पारिश्रमिक लगायत विभिन्न टर्चरको विषयमा पनि कुरा राखेकी छन् ।

उनले इन्द्रेणी र आफ्नो विषयमा सामाजिक सञ्जालबाट लगाएको आरोपमा भने कार्यक्रम सञ्चालक कृष्ण कँडेलले खण्डन गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले कसैको श्रम तथा सम्मानमा चोट तथा शोषण गर्ने कार्य नगरेको बताए ।

‘आज यस संस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दागर्दै पनि केहि कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाई बदनाम गराउन र सिङ्गो संस्थालाई नै धराशायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरवार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म साह्रै दुखित छु’, कँडेलले अगाडि भनेका छन्– ‘झुटा कुरा बोलेको विषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणी माथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरूको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरूलाई हार्दिक अपिल गर्दछु ।’ उनले आफूसँग सम्बन्ध रहेको विषयको समाचार एकतर्फी रूपमा समेत प्रसारण नगरिदिन सञ्चारमाध्यमलाई अनुरोध गरेका छन् ।

शर्मिलाको मानसिक टर्चरको आरोपको विषयमा इन्द्रेणी कार्यक्रमका सञ्चालक कँडेलसँग पटक–पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । इन्द्रेणी कार्यक्रम विगत लामो समयदेखि सञ्चालन हुँदै आएको लोकदोहोरी कार्यक्रम हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖