• Monday 5th of October 2026

हिरासतमा महिला थुनुवा बलात्कारबारे गम्भीर तथ्य बाहिरियो


  • धनकुटा खबर
  • .

काठमाडौ । कर्तब्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेकी ३५ वर्षीया महिला थुनुवामाथि कार्यालयका डिएसपी दीपककुमार रायले बलात्कार गरेको भनिएको घटनाबारे विस्तृत रूपमा छानबिन गर्न अनौपचारिक सेवा केन्द्र (इन्सेक) लगायतका संघसंस्थाले माग गरेका छन् ।

इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले गरेको अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।

इन्सेकले घटनाबारे विस्तृत रूपमा छानबिन गर्न र बलात्कार भएको भनिएकी थुनुवा महिलासँग महिला प्रहरीको उपस्थितिमा बयान लिने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताएको छ ।

स्थलगत अध्ययनको क्रममा कर्तब्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी ३५ वर्षीया महिलाले सोही कार्यालयका डिएसपी रायले ०७९ चैत ६ गते राती बयानका लागि आफ्नो कार्य कक्षमा बोलाएर दुई पटक बलात्कार गरेको बताएकी थिइन् । गत वैशाख १२ मा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि गएका बेला उनले स्वास्थ्यकर्मीहरूलाई यस्तो बताएकी थिइन् ।

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले प्रहरी हिरासतभित्रै महिला थुनुवा बलात्कृत हुनु गम्भीर प्रकृतिको घटना भएकाले देशभरका सबै प्रहरी कार्यालय अन्तर्गत रहेका महिला थुनुवा कक्षको सुरक्षामा महिला प्रहरी खटाउन समेत माग गरेको छ ।

इन्सेकका अध्यक्ष डा। कुन्दन अर्यालले घटनाबारे प्रहरी र अन्य निकायले विस्तृत रूपमा छानबिन गर्नुको साटो दोषीलाई प्रहरी प्रशासनले संरक्षण गर्नुले न्यायलाई शक्तिले प्रभावित गरिरहेको भान भएको बताए। अध्यक्ष अर्यालले सुरक्षा निकायभित्रै सुरक्षा घेरामा रहेकी महिलामाथि बलात्कार हुनु जघन्य अपराधमा भएको उल्लेख गर्दै अपराधमा संलग्नलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन र कारवाही गर्नुपर्ने उल्लेख गरे ।

त्यसैगरी महिला पुनर्स्थापना केन्द्र (ओरेककी) अध्यक्ष डा रेणु अधिकारीले पीडित महिलालाई डिएसपी रायले मुख थुनी बोल्न कराउन नदिइ जबर्जस्ती करणी गरिएको र पुनः हिरासत कक्षबाट बाहिर कार्यकक्षमा लगेर बलात्कार गरेपश्चात बलात्कार गरेको कुरा कसैलाई भनेमा २० वर्षसम्म जेलमा सडाई दिने भनेर धम्की दिएको बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖