काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुम्निमा खालिङमाथि हिंसा नगरेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफूलाई श्रीमतीले पीडित बनाएको बताए ।
बुधबार साँझ पत्रकार सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख सबैमाझ शेयर गरेका छन् । श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर लगाएको आरोपको समेत उनले खण्डन गरेका छन् ।
‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्न छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’ उनले यसका लागि आफूले औषधि पनि सेवन गरेको बताए ।
सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमण लगायतको क्रियाकलाप गर्ने गरेको बताए । उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकार गरेका छन् । उनले परपुरुषसँगको निकटता थाहा पाएपछि सुम्निमासँग डिभोर्स मागेको बताए ।
यसअघि श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप सहित पीडित बनाएको भन्दै मिडियामा अन्तर्वार्ता दिएकी थिइन् ।
अन्तर्वार्तामा सुम्निमाले आफू हुँदा हुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत आरोप लगाएकी थिइन् । आफू विरुद्ध श्रीमती सुम्निमाले विभिन्न आरोप लगाएपछि पवनले पत्रकार सम्मेलन गर्दै आफ्नो कुरो राखेका हुन् ।
