प्राङ्कस्टर एलिस राईमार्फत पवनको सुम्निमासँग चिनजान भएको थियो २०७५/७६ सालतिर । सिक्किमबाट आएर काठमाडौंमा ‘मामा’ सँग बसिरहेकी सुम्निमालाई कलाकारितामा रुचि थियो । एलिसको एउटा म्युजिक भिडियोमा उनले अभिनय गर्ने अवसर पाइन् । त्यसबेला ‘म्याकुरी’ सामाजिक सञ्जालमा हिट थिए । सुम्निमा म्याकुरीकी फ्यान थिइन् ।
कोटेश्वरमा भएको पहिलो भेटमा नै सुम्निमानले म्याकुरीसँग उनको भिडियोमा खेल्ने इच्छा देखाइन् । म्याकुरीले पनि खेलाइहाले । बिस्तारै उनीहरू नजिक भए । सुम्निमा म्याकुरीको टिममा स्थायीरुपमा समावेश भइन् । उनका भिडियोहरू नियमित खेलिन् । दर्शकले पनि चिन्न थाले ।
पवन र सुम्निमा प्रेममा परे । प्रेम प्रस्ताव पवनले राखेका थिए । केही समय लिभिङ टुगेदरमा बसे । त्यस क्रममा नै पवन र सुम्निमाबीच झैंझगडा हुन थालिसकेको थियो । सुम्निमाको आक्रामक व्यवहारबाट पवन आजित हुँदै गएका थिए । उनले सम्बन्ध तोड्ने प्रयास पनि गरे । तर, सकेनन् । एकपटक काठमाडौं छोडेर धनकुटा गएर बसे । सुम्निमाले विष खाएको भन्दै मामाले फेक फोटो पठाएपछि दौडिएर आए । तर, सुम्निमा सद्दे थिइन् ।
लिभिङमा बसेर पवनले छोड्न खोजेको भन्दै सुम्निमा पटक–पटक प्रहरीमा पुगिन् । मामाले पनि उनीहरूको सम्बन्ध मिडियामा ल्याइदिने भनेर धम्क्याए । अन्ततः पवन विवाह गर्न राजी भए ।
उनीहरूले २०७८ साल असोज २८ गते उनीहरुबीच परम्परागतरुपमा विवाह भयो । विवाहमा सुम्निमाको परिवारका कोही पनि उपस्थित थिएनन् । उनीहरू सिक्किमबाट आएनन् । मामाले नै सुम्निमाको कन्यादान गरिदिएका थिए । पवनको परिवारले बुहारीका रूपमा सुम्निमालाई भित्र्याए ।
अन्तरजातीय र अन्तर्राष्ट्रिय विवाह भनेर खुब चर्चा भयो । विवाहपछि पवन र सुम्निमाका अन्तरवार्ता युट्युब च्यानलमा छ्यापछ्याप्ती भएका थिए । ती अन्तरवार्ता अहिले पनि भेटिन्छन्, जसमा दुवैले एक–अर्काको बयान गरेर थाकेका छैनन् ।
तर, उनीहरूको दाम्पत्य जीवन भने सुखद रहन सकेन । सुम्निमामा पहिल्यैबाट मानसिक समस्या थियो । उनी एन्जाइटीबाट पीडित थिइन् । बेलाबेला असामान्य उग्रता देखाउने गर्थिन् । रक्सी पिएको बेलामा उनको व्यवहार थामिनसक्नु हुन्थ्यो । खासगरी पवनले अन्य युवतीहरूसँग हिमचिम गरेको भनेर सुम्निमाले झगडा गर्ने गरेको निकटस्थहरू बताउँछन् ।
पटक पटक उग्र विवाद र हात हालाहाल भएपछि पवनले सुम्निमासँग डिभोर्स माग्न थाले । सुम्निमा त्यसका लागि तयार थिइनन् । अन्ततः ११ महिना अगाडि पवनले सुम्निमालाई एउटा रिह्याभ सेन्टरमा लगेर राखिदिए । करिब १० महिनासम्म सुम्निमा रिह्याबमा रहिन् । यसबीचमा पवनको निकटता भाइरल ‘ल्याप डान्सर’ रीतु बस्नेतसँग बढिरहेको थियो । उनी जसरी पनि सुम्निमासँग छुट्टिने मनस्थितिमा पुगिसकेका थिए ।
सुम्निमा करिब एक महिना अगाडि रिह्याबको झ्याल फोडेर भागिन् । त्यसपछि कथामा शर्मिला वाइवाको इन्ट्री भयो । शर्मिलाको नेतृत्वमा तीन जनाले पवन बसेको घरमा मध्यरात गएर उनीमाथि हमला गरे । त्यसको भोलिपल्ट युट्यूवर सम्मेलन गर्दै सुम्निमाले सबै कुरा छताछुल्ल बनाइन् । त्यसको काउन्टरमा पवनले पनि युट्युबर सम्मेलन गरे । दुवैले एक अर्कामाथि गम्भीर आरोपहरू लगाएका छन् ।
पवनमाथि सुम्निमाका मुख्य आरोप
बाहिर युवतीहरूसँग मोजमस्ती गरेर आफूलाई अवहेलना गरेको
अर्को विवाहको बाटो क्लियर गर्न आफूसँग डिभोर्स मागेको
एउटा गाडीसहित आफ्नो ४० लाख रुपैयाँ सम्पत्ति खाइदिएको
आफूलाई जबरजस्ती रिह्यावमा लगेर राखेको र त्यहाँबाट कहिल्यै निस्किन नदिने प्रपञ्च रचेको
मोडल रीतु बस्नेतसँग होटलमा रात बिताएको र उनलाई गर्भवतीसमेत बनाएको
सुम्निमामाथि पवनका आरोप
उद्दण्ड व्यवहार देखाउने र बारम्बार आफूलाई कुटपिटसमेत गर्ने गरेको
अनेकन झुटहरू बोलेर आफूलाई भुलभुलैयामा पारेको
मामासितको सम्बन्ध शंकाष्पद, सिक्किममा पहिल्यै विवाहित रहेको कुरा लुकाएको
आफू कुनै युवतीसँग नजिक हुनासाथ अनावश्यक शंका गर्ने गरेको
आफ्नो पोल खुल्ने डरले ससुरालीमा कहिल्यै नलगेको
सुम्निमासँग अफेयरमा बस्दा नै उनको उग्र स्वभाव बुझेर विवाह नगर्ने मनस्थितिमा पुगेको पवन बताउँछन् । तर, मामाले गरेको ब्ल्याकमेलिङ र डाक्टरले पनि विवाहपछि सुम्निमाको एन्जाइटी ठिक हुन सक्ने भनेर दिएको सल्लाहले विवाह गर्न तयार रहेको उनको भनाइ छ । विवाहपछि सुम्निमाका एक पछि अर्को झूट खुल्दै गएपछि आफू विस्मित भएको पवनले बताए ।
उनले भने, ‘सस्पेन्स फिल्ममा झैँ एकपछि अर्को नयाँ रहस्य खुल्दै गए । आफूले बोलेको झूट खुल्ने डरले नै उनको एन्जाइटी बढिरहेको रहेछ ।’
पवनका अनुसार एक पटक सुम्निमाको तिनै ‘मामा’ सँग पनि लफडा परेको थियो । सुम्निमाले मामालाई खुकुरी नै ताकेकी थिइन् । त्यस क्रममा घम्साघम्सी हुँदा सुम्निमाको एउटा दाँत नै भुईँमा खस्यो ।
उनी भन्छन्, ‘दाँत भुईँमा खस्दा पनि एक थोपा रगत थिएन । त्यसपछि पो थाहा भयो अगाडिको दाँत नै नक्कली रहेछ ।’
सानैमा मामाले नै पिटेर आफ्नो दाँत खुस्काइदिएपछि नक्कली हालेको भनेर सुम्निमाले स्वीकारेको पवनको दाबी छ ।
पवनको अर्को आरोप छ कि सुम्निमाले उनीसँग सुन किन्न भनेर पैसा लिइन्, तर नक्कली सुन किनेर पारिवारिक भ्रष्टाचार गरिन् । उनले पत्रकार सम्मेलनमा नक्कली सुनको बालासमेत देखाएका थिए ।
पवनले मामासँग सुम्निमाका सम्बन्ध नै सन्दिग्ध रहेको दाबी गरेका छन् । सुरुमा आफ्नै मामा भनेर चिनाएको तर पछि ‘मामा’ साइनो मात्र लगाएको आफूले थाहा पाएको उनको भनाइ छ ।
‘मामा भन्नेले उनलाई सानैमा सिक्किमबाट काठमाडौं ल्याएर श्रम शोषण र शारीरिक शोषणसमेत गरेको रहेछ । खासमा मलाई भेट्दासम्म उनीहरू लिभिङ टुगेदरमा बसिरहेका थिए भन्ने सूचना मलाई आयो । त्यसपछि म छाँगाबाट खसेझैँ भएँ,’ पवनको दाबी छ, ‘अब यो केटीसँग एउटै छानोमुनि बस्न सक्दिनँ भन्ने निष्कर्षमा पुगेँ ।’
पवन र सुम्निमाको विवाद अदालतमा पुगेर ‘सेफ ल्यान्डिङ’ हुन सक्थ्यो होला । पवनले अदालत जाने तयारी गरिरहेका थिए । तर, जब उनीहरूको बीचमा कथित अभियन्ता शर्मिला वाइवाको इन्ट्रीपछि विवाद गहिरिएको छ । सुम्निमालाई अदालत जान नदिएर ‘मिडिया’ मा धकेल्ने वाइवा नै हुन् । सुरुमा पवनसित मिलेकी उनी अहिले सुम्निमातिर लागेर पवनमाथि निसाना साँधिरहेकी छन् ।
गल्ती त पवनकै हो । सुरुमा उनले नै शर्मिलालाई आफ्नी पत्नी सुम्निमाविरुद्ध प्रयोग गर्न खोजेका थिए ।
पवन भन्छन्, ‘सुम्निमाबाट बारम्बार कुटाइखानु पर्दा म आफैँले प्रतिवाद गर्न सक्ने स्थिति भएन । पुरुषले महिलामाथि हात हाल्दा यहाँ ठूलो इस्यू बन्छ । त्यसैले शर्मिलाको सहयोग मागेको हुँ । तर, उनले उल्टै सुम्निमासित मिलेर मलाई ब्ल्याकमेलिङ गर्न थालिन् ।’
पवनको गर्लफ्रेन्ड भनिएकी रीतु शर्मिलाकै घरमा भाडामा बस्छिन् । उनको भाडा पवनले नै तिरिदिने गरेको बताइन्छ । युट्युबर सम्मेलन गर्नुअघि शर्मिलाले रीतुको एउटा भिडियोसमेत बनाइन् । भिडियोमा रीतुले आफ्नो पेटमा पवनको बच्चा रहेको बताएकी छन् । यसले पवनमाथि गम्भीर प्रश्न खडा भयो नै ।
पवन र सुम्निमाको अढाई वर्षसम्म कुनै पनि सन्तान भएका छैनन् । तर, रीतुलाई पेट बोकाएको आरोपपछि पवन स्पष्टीकरण दिन बाध्य भए । आफ्नो शुक्रकीटमै खराबी रहेकाले डाक्टरले बच्चा पाउन नसक्ने बताएको उनको भनाइ छ । तर, सुम्निमाले भने पवनबाट आफ्नो गर्भमा बच्चा बसेको तर दुई जनाको सहमतिमा नै एबोर्सन गराएको दाबी गरेकी छन् । रीतुले अर्को एउटा अन्तरवार्तामा आफू गर्भवती नरहेको बताएकी छन् । शर्मिलाले प्राङ्क भिडियो बनाउने भनेपछि पवनको बच्चा बसेको भनेर बोलेको उनको प्रतिक्रिया छ ।
शर्मिलाकै सक्रियतामा पवनको एउटा सीसीटीभी फुटेज पनि बाहिर ल्याइएको छ, जसमा उनी मोडल रीतुसँग होटलबाट हात समातेर निस्किरहेको देखिन्छन् । अर्को एउटा फुटेजमा पवन ओछ्यानमा एक्लै लडिबुडी गरिरहेको देखिएको छ, जुन दृश्य रीतुको कोठाभित्रको हो भनेर पवन स्वयम्ले स्वीकारेका छन् । त्यसैले रीतुले पेट बोकेको होइन भने पनि रीतुसित आफ्नो अफेयर छैन भनेर पवनले कन्फिडेन्ससाथ भन्न सक्ने स्थिति छैन ।
रीतुको विषयमा कुरा गर्नुपर्दा उनी खासै गतिलो छवि भएकी युवती होइनन् । कोरियोग्राफर बद्री विष्टसँग अश्लील डान्स गरेर उनी भाइरल भएकी थिइन् । त्यसपछि पनि उनका अनेक भद्दा हाउभाउ र संवादहरू सामाजिक सञ्जालमा आइरहेका छन् । एउटा विवाहित पुरुषको बच्चा आफ्नो पेटमा छ भनेर हाँस्दै भिडियो बनाउनुले पनि उनको चारित्रिक हैसियत उजागर हुन्छ ।
पवन र सुम्निमा दुवैका निकटस्थहरूको कुरा सुन्दा दुवैका पर्याप्त कमी–कमजोरी देखिन्छन् । पवन एक प्रतिभाशाली कलाकार हुनुका साथै सुशिक्षित व्यक्ति पनि हुन् । उनले एमएस्सीसम्मको अध्ययन गरेका छन् । पत्नीमा मानसिक समस्या छ भन्ने पहिल्यै थाहा पाएर पनि पवनले उनलाई श्रीमतीका रूपमा सहर्ष स्वीकारेका हुन् । तर, हाउडे स्वभावका पवनले विवाहपछि एउटा मानसिक रोगीलाई डील गर्ने परिपक्वता देखाउन सकेनन् । उनले सुम्निमाको उपचारका लागि मातादेखि डाक्टर सबैतिर धाएको बताएका छन् । तर, सुम्निमाका लागि सबैभन्दा ठूलो ‘डाक्टर’ उनी आफैँ हुन सक्थे । सुम्निमाले केही झूट नै बोलेकी थिइन् भने पनि अतीतका कुराहरूलाई वर्तमानमा इस्यू बनाउनु ठिक थिएन ।
मामा मिडियामा ! भन्छन्- सुम्निमाको शरीरमा देउताको बास छ
पवन र सुम्निमाको विवादमा जोडिएका एकपछि अर्को पात्रहरू भटाभट मिडियामा आइरहेका छन् । अहिलेसम्म मिडियामा नआएका मात्र होइन कि पहिचानसमेत नभएका पात्र हुन् सुम्निमाका ‘मामा’ । को हुन् उनी र अहिले किन मौन छन् ?
अलिकति खोजीनिती गर्दा थाहा भयो, पुराना जनवादी गायक प्रदीप देवान रहेछन् सुम्निमाका मामा । उनी माओवादी जनयुद्धमा भूमिगतसमेत भएका थिए । २०६४ देखि ६७ सालसम्म उनी नेपाल टेलिभिजनमा आस्थाका स्वरहरू भन्ने कार्यक्रम चलाउँथे । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्वकीय सहसचिव थिए । तर, अहिले गुमनाम छन् ।
हामीसँगको फोन सम्पर्कमा देवानले सुम्निमाका विषयमा केही रोचक कुरा सुनाए । सुम्निमा आफ्नो लागि ‘भगवान् सरह’ भएको देवानले बताए । आफू सुम्निमाको खाँटी मामा भने नभएको उनको स्वीकारोक्ति छ ।
‘म नाताको मामा होइन, त्यो साइनो मात्र लगाएको हो,’ उनले भने, ‘तर, सुम्निमालाई मैले छोरीजस्तो मानेको छु ।’
देवानको भनाइ अनुसार उनले १२/१३ वर्षको उमेरमा सुम्निमालाई सिक्किमबाट नेपाल ल्याएका हुन् । सुम्निमाको कलाकारितातर्फ झुकाव देखेर ल्याएको उनी बताउँछन् ।
सुम्निमाको शारीरिक शोषण गरेको लिभिङ टुगेदरमा बसेको जस्ता पवनले लगाएका आरोपलाई उनले अस्वीकार गरे ।
‘ती कुराहरू मेरो कल्पनाभन्दा पनि बाहिरका हुन् । सुम्निमालाई म भगवान् मान्छु,’ उनले भने, ‘म जस्तो भौतिकवादी व्यक्तिलाई उनले नै आध्यात्मिकतातर्फ ढल्काएकी हुन् । उनको शरीरमा अदृश्य शक्तिको बास छ, त्यो मैले प्रत्यक्ष देखेको छु ।’
सुम्निमासँग आफ्नो सम्बन्धलाई उनले यसरी वर्णन गरे:
मेरो छिमेकीहरूमार्फत यो नानीसँग चिनजान भएको हो । छरछिमेक भइसकेपछि एउटा एउटा साइनो लगाएर बोलाइन्छ । उनले मलाई सुरुदेखि मामा भन्छिन् । तर, नाताको मामा चाहिँ होइन ।
म गीतसंगीतमा सक्रिय भएकाले मसित केही सिक्छु भनेर सुम्निमा काठमाडौं आइन् । मैले आफ्नै परिवारसँग उनलाई राखेँ । पढाई लेखाइ भन्दा पनि उनको कलाकारितामा नै रुचि थियो । त्यसैले मैले त्यसमा सहयोग गरे । पवनसित भेट भएपछि उनको कलाकारिताले उडान लिएको हो ।
सुम्निमा पहिल्यैबाट एन्जाइटीको बिरामी थिइन् । पवनले भनेजस्तै डाक्टरले उनको विवाहपछि बिमारी ठिक हुन सक्छ भनेर सुझाव दिएका थिए । त्यसैले उनीहरूले विवाह गरे । मैले पनि विवाह गर्न भनिरहेकै थिएँ । तर, ब्ल्याकमेलिङ गरेको भन्ने आरोप झुट्टा हो ।
नानी सानैबाट मसित हुँदा भगवानको कुराहरू गर्ने गर्थिन् । महाभारत, रामायण, शिव पार्वतीका प्रसंगहरु सुनाउँथिन् । उनको हातमा जहिले पनि एउटा न एउटा भगवानको फोटो हुन्थ्यो । उनको शरीरमा अदृश्य शक्ति थियो । अदृश्य शक्ति नेगेटिभ र पोजेटिभ दुवै थियो । त्यो मैले महसुस गरेको मात्र होइन, प्रत्यक्ष देखेको छु । पोजेटिभ आउँदा त्यो शक्तिसँग मैले संवाद गर्थेँ । उसको बहिनी, आमा हुन्थे, तर उनीहरूसँग त्यो शक्तिले संवाद गर्थेन । केवल मसित गर्थ्यो । तिमी उसको बाबु हो, तिमीले उसलाई जन्म नदिए पनि कर्म दिएका छौ, राम्ररी हेरचाह गर्नु भन्थ्यो । त्यही अनुसार नै मैले उनलाई छोरीको स्थानमा राखेको हुँ ।
मलाई विश्वास छ, भोलि उनी संसारकै एक–दुई नम्बरको माता हुनेछिन् । केही वर्ष चाहिँ हुँदिनन् । अहिले उनी एउटा मनुष्य हो । त्यसैले उनको चाहना अरू नै छ । उनले रोजेको कुरा नै हामीले गरिदिनु पर्छ । पछि चाहिँ माता हुन्छिन् बालक भनेर मलाई त्यो अदृश्य शक्तिले भनेको छ । त्यस्तै नै भइरहेको छ ।
अहिले उ भक्ति मार्गमा नलागीकन सांसारिकमा लागेकाले यो सबै लफडा भएको हो । पवन बाबु पनि नराम्रो मान्छे होइन जस्तो लाग्छ । तर पवनले सुधार गृहमा लगिसकेपछि गलत गर्यो कि जस्तो लागिरहेको छ । अर्को केटीसित चक्करको कुरा आएको छ । पहिले चाहिँ उसको यस्तो स्वभाव थिएन ।
सुम्निमाले हिंसा र कुटपिट गर्थ्यो भनेर पवनले भनेको छ । यसमा पवनको पनि गल्ती छ नि । एन्जाइटीको औषधी खाइरहेको व्यक्तिले अल्कोहल त सुँघ्नै हुँदैन । रक्सी खुवाएपछि त्यस्तो गर्यो होला । अरू बेला त्यस्तो असामान्य मैले देखेको छैन ।
पछिल्लो पटक सुधार गृहबाट निस्किसकेपछि नानी कहाँ कसरी बसेकी छिन् भन्ने पवनले ध्यान दिएको छैन । उसलाई लगाउने कपडा चाहिएला, मोबाइल चाहिएला, कहाँ खाएको छ कहाँ बसेको छ । प्रहरीले पनि भनिरहेको छ पवनलाई । अति नै भएपछि मिडियामा आएर बोलेको हो ।
मलाई थाहा भएसम्म त्यो गाडी चाहिँ सुम्निमाले नै १८ लाख हालेर किनेको हो । उसलाई सिक्किमबाट पनि सहयोग आउँथ्यो । कलाकारिताबाट पनि कमाइरहेकी थिइन् । त्यही पैसा जोगाएर राखेको होला । सुन नक्कली किनेको भन्ने कुरा चाहिँ मलाई जानकारी भएन । नक्कली दाँतको कुरा पनि थाहा छैन ।
पवनबाबुले ममाथि झूटा आरोपहरू लगाउनुभएको छ । म आफ्नो श्रीमती र छोरासँग बस्छु । सानोमा सुम्निमा र मेरो छोरा दिदीभाइजसरी मिलेर बस्थे । सुम्निमालाई अहिले पनि छोरी नै मान्छु । अन्तर आत्माबाट मलाई भोलि मर्ने बेलामा मेरो छोराभन्दा पनि छोरी (सुम्निमा)ले हेर्छिन् भन्ने आशा लाग्छ । सुम्निमाकै प्रेरणाले म पछि भजनहरू गाउन थालेँ । सुरुमा क्रान्तिकारी गीत गाउने व्यक्ति धार्मिक गीत गाउनुमा आएको ठूलो परिवर्तन हो । यसमा सुम्निमाको ठूलो हात छ । उनीप्रति मैे कसरी गलत दृष्टि राख्ने राख्न सक्छु ?
सुम्निमा नर्मल मान्छे नै होइन । अबको ५–७ वर्षपछि थाहा पाउनुहुन्छ, सुम्निमा को हो भन्ने कुरा । अहिले चाहिँ उसको शरीरमा अदृश्य शक्ति आएर बोल्दैन, तर उनलाई कुनै पनि कुराको पूर्वाभास दिन्छ । भोलि के हुँदैछ भन्ने चेतना आउँछ । उनी सांसारिकमा लागेका कारण लोभ, क्रोध, घमन्ड, इर्ष्या कुराहरू देखिएका हुन् । केही समयपछि यो सबै समाप्त हुन्छ र भक्ति मार्गमा लाग्छिन् । मसित भेटमा उनले पवनसित लफडा सकिएपछि, आफ्नो सम्पत्ति फिर्ता पाएपछि अध्यात्ममा लाग्ने बताएकी छिन् ।
