• Tuesday 6th of October 2026

गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा रुइत


  • धनकुटा खबर
  • .

ताप्लेजुङ। नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने भएका छन्। उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिए।

जिल्लास्थित नेपाल नेत्रज्योति संघले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो।

शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा रुइत गृहजिल्ला आउनुभएको सङ्घका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए। विभिन्न गाउँ–गाउँबाट शल्यक्रियाका लागि सिफारिस भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको उनले जानकारी दिए।

आजदेखि सुरु भएको शल्यक्रिया तीन दिनसम्म सञ्चालन हुने संघले जनाएको छ । डा रुइतले शल्यक्रिया गर्ने भएपछि आज नाम दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रहेको संंघ कोषाध्यक्ष निरोज श्रेष्ठले बताए।

सेवा लिन आउने सबै सेवाग्राहीलाई सहज ढङ्गले सेवा दिएर पठाउने योजनाका साथ काम भइरहेको सङ्घका जिल्ला सहसचिव युवराज गिरीले बताए। उनका अनुसार अहिले नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखाको परीक्षण तथा उपचार भइरहेको छ।

आँखाको परीक्षणका लागि आइपुगेको तिलगंगा आँखा अस्पतालको प्राविधिक टोलीले आज बिहानैदेखि परीक्षण तथा उपचार सुरु गरेको छ। परीक्षणका क्रममा छनोट भएका मोतियाबिन्दुका बिरामीको डा रुइतको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्ने आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए।

संघले यसअघि मैवाखोलाको ढुंगेसाँघु र मिक्वाखोलाको खोक्लिङमा पुगेर आँखाको परीक्षण गरी ३७ जना मोतियाबिन्दुका बिरामीको छनोट गरिसकेको छ । उनीहरूको पनि आज शल्यक्रिया गर्ने योजना रहेको गुरुङले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖