• Monday 5th of October 2026

सम्पर्कविहीन भएपछि छोरा खोज्न मेलवर्न, सिड्नी धाइरहेका छन् परिवार


  • धनकुटा खबर
  • .

उच्च शिक्षा अध्ययनका लागि कयैन् सपना बोकेर विदेश पठाएको छोराछोरी सम्पर्कविहीन हुने घटना बढ्न थालेपछि अभिभावक चिन्तित बनेका छन्। पैसा कमाउला, उच्च शिक्षा आर्जन गर्ला र बाबुआमालाई खुसी देला भन्ने सोचले छोराछोरी विदेश पठाउने हाम्रो समाजमा केही तिता नमिठा घटना घट्न थालेका छन्।

अस्ट्रेलिया पढ्न पठाएको छोरो लामो समयदेखि परिवार र आफन्तजनको सम्पर्कमा नआएपछि पीडित एक जोडी अभिभावकले अष्ट्रेलियाका सबै निकाय गुहारेका छन्। तर पनि अझै छोरोको केही खबर छैन।
नेपालमा निकै राम्रो अंकका साथ कक्षा १२ सकेर अस्ट्रेलिया पढ्न पठाएको छोरो यसरी पठाएको दुई वर्षमै बेपत्ता हुँदा अभिभावकलाई कसरी उसलाई नेपाल फर्काउने भन्ने चिन्ताले सताएको छ।

‘बाबु यस्तो पीडा अरू कसैले पनि भोग्नु नपरोस्, आमा मेरो छोरो कस्तो होला, के गर्दै होला भनेर रुन्छे, मेरो दिन सम्झाउँदैमा बितेको छ। आफू नेपालमा छु कसरी होला पत्ता लगाउने’, ती बाबुले आफ्नो पीडा सुनाए।

नेपालमा बसेर अस्ट्रेलियामा रहेका आफन्त र चिनजान अनि एनआरएन र राजदूतावासमा फोन लगाउँदैमा बाबुआमाको दिन बित्न थालेको छ तर पत्तो अझै लागेको छैन।

आफूहरूकहाँ केही यस्ता प्रकृतिका गुनासाहरू आएको तर सम्बन्धित निकायलाई पत्राचार गरिदिनेबाहेक अरू केही गर्न नसकेको अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल बताउँछन्।

‘हामीले यस्ता खाले घटनामा सहयोगी भूमिका निभाउँदै सम्बन्धित निकायलाई पत्राचार गरिदिने हो तर यहाँको कानुन र प्रदत्त अधिकार अनुरूप १९ वर्ष कटेको कुनै पनि युवालाई जबरजस्ती गर्न पाइँदैन’, राजदूत पोखरेलले भने, ‘विद्यार्थीले आफ्नै अगाडि आएका अभिभावकलाई पनि भेट्दिनँ भन्यो भने जबरजस्ती गर्न पाइँदैन। यस्तो कठिन अवस्थामा हामीले गर्ने भनेको भेटियो भने बाबुआमाले पठाएको म्यासेज सम्बन्धित व्यक्तिसम्म पुर्‍याइदिने हो।’

यस्तै प्रकृतिको अर्को घटना।

पढाइमा तेज एक युवा राजेशले (नाम परिवर्तन) अस्ट्रेलिया गएर उच्च अध्ययनको इच्छा व्यक्त गरेपछि व्यवसायी बाबुआमाले राम्रो विश्वविद्यालय पठाए। तर यहाँ आएपछि केही महिनामै उसमा परिवर्तन देखियो। पैसाको माग बढ्न थाल्यो। अभिभावकहरूले यो परिवर्तनलाई सुरूमा सामान्य ठाने तर जब तारम्तार पैसाको माग बढ्न थाल्यो उनीहरू झस्किए।
पैसा पठाउन्जेलसम्म सम्पर्क र कुराकानी हुँदैथियो जब अभिभावकले पैसा पठाउन छाडे तब राजेशले अभिभावकसँग सम्पर्क बन्द गरे। अहिले राजेशको बाबुआमासँंग सम्पर्क नभएको छ महिना कटिसक्यो। उनीहरू छोरो खोज्न कहिले मेलवर्न त कहिले सिड्नी धाइरहेका छन्।
‘एउटा सन्तान केही गर्ला र भविष्य बनाउला भनेर राम्रो विश्वविद्यालयमा पठाइयो तर अहिले यो अवस्था आयो, छोरा खोज्न आफैं विदेश आउनु परेको छ’, राजेशका बुवा रामनरेश बताउँछन्।
यो त देखिएका केही घटना मात्रै हुन्। लगभग दर्जन बढी यस्ता घटना छन्। सम्पर्कविहीन हुनेमा केटीभन्दा केटा धेरै छन्।

अहिले नेपाली विद्यार्थीहरूको संख्या एक लाखको हाराहारीमा बढ्दै गर्दा समस्याको चाङ पनि बढ्दै गइरहेका छन्। लागुपदार्थ, जुवाको लत र मोजमस्तीको जीवनशैलीले विद्यार्थीलाई नराम्ररी गाँजेको छ। केहीलाई त मानसिक समस्या यस्तो अवस्थामा ल्याइपुर्‍याएको तथ्यांकले देखाउँछ।
यसरी कुलतमा फसेपछि विद्यार्थीहरू पैसाको डिमान्ड गर्ने र विस्तारै आफन्तजन र परिवारसँग टाढिने प्रवृत्ति बढेको एनआरएन एनएसडब्लुका संयोजक बिनोद कुँवर बताउँछन्।

‘सुरूमा साथीभाइको लहलहैमा लागेर गलत बाटो पक्डिने र त्यसपछि पढाइ बिग्रार्ने अनि घर परिवारसँंग टाढा बन्दै जाने प्रवृत्तिलाई रोक्न अभिभावक सचेत हुन जरूरी देखिन्छ’, उनले भने, ‘छोराछोरीलाई विदेश पठाएपछि आफ्नो जिम्मेवारी सकियो भन्ने होइन, के गर्दैछ, के पढ्दैछ, कहाँ बस्छ, काम के गरिरहेको छ भन्ने कुरामा अभिभावक जानकार हुनुपर्छ।छोराछोरीसँगको नियमित सम्पर्क र सोधपुछले पनि उनीहरूको वातावरणमा ठूलो बल पुग्छ’ , एनआरएनका उपाध्यक्ष समेत रहेका कुँवर भन्छन्।

उनले अगाडि भने, ‘यसरी विद्यार्थीहरू सम्पर्कविहीन हुने घटना सबैको लागि पीडादायिक विषय बनेको हुँदा नेपाली समाज र एनआरएनका साथीभाइमार्फत् कतै कहीँ भेटियो भने खबर गरिदिन र विद्यार्थीलाई सम्झाइबुझाइ गरिदिने काममा हामी लागेका छौं।’
-हेमन्त काफ्ले/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖