• Tuesday 6th of October 2026

चालीस कटेका महिलाले गराउनै पर्छ यी स्वास्थ्य परीक्षण


  • धनकुटा खबर
  • .

उमेरले चालीस कटेपछि सामान्यतया हरेक व्यक्ति बिस्तारै निष्क्रिय र रोगी हुँदै जान्छ । अझ पुरुषहरूको तुलनामा महिला बढी नै रोगी हुने गर्दछन् । यसकारण तपाइको पनि चालीस (उमेर) कटिसक्यो भने एक पटक स्वास्थ्य जाँच अवश्य गराउनुहोला ।

मानौँ चालीस वर्षको उमेरसम्म तपाईँको स्वास्थ्यमा खासै समस्या आएको छैन भने पनि यसपछि भने सजग रहनु उत्तम हुने चिकित्सकहरू बताउँछन् ।

किनभने उमेरको यो चरणमा पुगेपछि केही स्वास्थ्य जोखिमहरू थपिन सक्छ । त्यसैले आफ्नो शरीर स्वस्थ छ वा छैन भनेर जाँच्नुपर्छ ।

यसले तपाईँलाई सम्भावित जोखिमबाट बचाउने मात्र होइन, ढुक्क पनि बनाउँछ । त्यसैले चालीस काटेपछि होलबडी चेकअप गर्नुहोस् ।

चालिस कटेका महिलाले के– के परीक्षण गराउने ?

मानव शरीरमा मस्तिष्क (गिदी), मुटु, मृगाैला, कलेजो र फोक्सोलाई निकै महत्त्वपूर्ण अङ्ग मानिन्छन् । यी अङ्गहरू मध्ये कुनैमा समस्या आए व्यक्ति विशेषको दैनिक जीवनमा निकै असहजता उत्पन्न हुन्छ । यसकारण यो उमेरमा पुगेपछि माथि उल्लेखित अङ्गहरूको चेकजाँच गराउन आवश्यक छ ।

मृगाैला

मृगाैलाको स्थिति थाहा पाउन पिसाबमा एल्बुमिन, रक्तकणिका अनि रगतमा क्रियटिनिनको मात्रा जाँच गराए पुग्छ । यदि मृगाैला सम्बन्धी यी रिपोर्टमा कुनै कैफियत देखियो भने मात्र पिसाबको कल्चर, मिर्गौलाको भिडियो एक्स-रे, रगतमा ईलेक्ट्रोलाईट्सको जाँच गराउने तर्फ लाग्नुपर्छ ।

मुटु

त्यसैगरी मुटुको अवस्था थाहा पाउन ईसीजी नामक प्रारम्भिक जाँच गराए पुग्छ । ईसीजीको रिपोर्ट हेरेपछि मात्र ईकोकार्डियोग्राफी भनिने मुटुको भिडियो एक्स-रे गराउन आवश्यक हुन्छ । रक्तनलीमा बोसो अर्थात कोलेस्ट्रोल जम्यो भने रक्तनली साँगुरिन गई हृदयाघात हुने, मस्तिष्कघात हुने, उच्च रक्तचापको समस्या देखिन सक्ने हुनाले सुरुमै लिपिड प्रोफाईल भनेर जाँच नगराई रगतमा कोलेस्ट्रोल एवं ट्राईग्लाईसेराईडको प्रारम्भिक परीक्षण गराए पुग्छ । यसमा असामान्य नतिजा आए मात्र लिपिड प्रोफाइल गराउँदामा हुन्छ ।

कलेजो

कलेजोको काम गराइको अवस्था थाहा पाउन रगतमा बिलिरुबिन, एएसटी र एएलटी भनिने प्रारम्भिक जाँच गराए पुग्छ ।

फोक्सो

नेपालमा त्यसैपनि ग्रामीण भेगतिरका महिलाहरूमा धूम्रपान गर्नै चलन बढी छ । त्यसमाथि घरका कसैले धूम्रपान गर्छन् साथै घरभित्रैका धुँवा धुलो एवं शहर बजारको वायु प्रदूषणले पनि फोक्सोको समस्या निम्त्याउँछ । फोक्सोको सही अवस्था थाहा पाउन छातीको एक्स–रेको प्रारम्भिक जाँच गराए पुग्छ । स्वाँ स्वाँ गरी सास फुल्ने, हल्का दम जस्तो पनि छ भने पल्मोनरी फन्क्शन टेष्ट भनेर सास तानेर, फुकेर गरिने जाँच गराए हुन्छ ।

थाइरोइड

थाइरोइड ग्रन्थिको स्वस्थताको लागि टीएसएच भन्ने प्रारम्भिक जाँच गराउनुपर्दछ । साथै भोको पेटमा रगतमा सुगरको मात्रा एवं दिसाको साधारण जाँच गराउनु राम्रो हुन्छ ।

स्तन एवं पाठेघर

नेपाली महिलाहरूको आयु लम्बिन थालेसँगै बुढ्यौली उमेरमा देखा पर्ने स्वास्थ्य समस्या एवं क्यान्सरको जोखिमलाई विचार गरेर थप जाँच गराउन पर्ने हुन्छ । जस्तै कि स्तनको क्यान्सरको लागि म्यामोग्राफी तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गको लागि प्याप स्मियर गराउन आवश्यक हुन्छ । पित्त थैली, मिर्गौला, पाठेघर, डिम्बाशयको अल्ट्रासाउण्ड (भिडियो एक्स-रे) गराउनु राम्रो हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖