• Wednesday 7th of October 2026

डुङ्गा दुर्घटनाको तीन दिनपछि समुद्रबाट ११ मछुवाको सकुशल उद्धार, २२ जना अझै बेपत्ता


  • धनकुटा खबर
  • .

समुद्रमा डुबेको डुङ्गामा झुण्डिएर तीन दिनको पखाईपछि इन्डोनेसियाका ११ जना मछुवाको सकुशल उद्धार भएको उद्धारकर्ताहरूले बुधबार बताएका छन्।

दक्षिण सुलावेसी प्रान्तको दुर्गम सेलेयार टापु नजिकैको समुद्रमा शनिबार कम्तीमा ३५ जना चालक दलका सदस्य रहेको डुङ्गा डुबेको थियो । डुङ्गामा रहेका ११ जना मछुवा तीन दिनपछि दुई छुट्टाछुट्टै टापुमा फसेको अवस्थामा फेला परेका हुन् ।

खराब मौसमका कारण डुङ्गा पल्टिएको स्थानीय खोज तथा उद्धार निकायले जनाएको छ । स्थानीय सरकारी अधिकारी एन्डी काको आम्रासले एएफपीसँग भने, ‘उनीहरु तीन दिनदेखि समुद्रमा तैरिरहेका थिए, पानीको प्रवाहले उनीहरूलाई सेलेयारको पुर्‍याएको थियो ।’ ती दुई छुट्टाछुट्टै टापुमा भेटिएका थिए ।

डुङ्गा मार्च ३ मा उत्तरी जकार्ता बन्दरगाहबाट पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुतर्फ जाँदै गरेको थियो । नौसेना र उद्धार स्वयंसेवकहरूले खोजी कार्यमा सहयोग गरिरहेका छन् ।

‘संयुक्त टोलीले थप खोजी र उद्धार कार्य गर्नेछ भने भेटिएका मछुवालाई उनीहरूको घरतर्फ पठाइएको स्थानीय खोज तथा उद्धार अधिकारी एन्डी रासवानले बताए। उद्धारकर्तालाई घटनास्थल पुग्न पाँच घण्टा लागेको उनले बताए।

सरकारी समाचार संस्था अन्तराका अनुसार स्थानीय मछुवाहरूले उनीहरूलाई देखेपछि र अधिकारीहरूलाई खबर गरेपछि ती व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको थियो ।

एएफपीसँग कुरा गर्दै अमरासले भने, ‘तीन दिनसम्म समुद्रमा लाइफ ज्याकेट लगाएर डुङ्गामा आफूलाई बाँधेर बसेको मछुवाहरूले बताएका छन् ।’

मछुवासहितको घोप्टिएको डुङ्गा पानीमा तैरिँदै सेलेयार टापुमा पुगेको उनले बताए।

अमरासका अनुसार ९३ टन तौल भएको उक्त जहाजमा माछा समात्ने उपकरण, जाल, ढुङ्गा, डोरी, नरिवलको पात र माछा मार्ने रडजस्ता उपकरणहरू थिए ।

डुङ्गामा ३५ जना सवार थिए भने २२ जना हराइरहेका छन् यद्यपि इन्डोनेशियाको उद्धार एजेन्सीले ३७ जना सवार डुङ्गामा रहेका २४ जना हराइरहेको जनाएको छ ।

इन्डोनेसियामा डुङ्गामा वास्तविक यात्रुहरूको सङ्ख्या तोकिएकोभन्दा फरक हुनु सामान्य कुरा मानिन्छ । अधिकारीहरूले मङ्गलबार बिहानै घटनाको बारेमा रिपोर्ट प्राप्त गरे पनि खराब मौसमका कारण उनीहरूको प्रयासमा बाधा पुगेको बताएका छन्।

करिब १७ हजार टापुरहेको दक्षिणपूर्वी एशियाली द्वीप समूह इन्डोनेसियामा सुरक्षा मापदण्डको फितलोपनका कारण पटकपटक समुद्री दुर्घटना हुने गरेको छ ।

सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुब्दा १५० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖