• Tuesday 6th of October 2026

पलको गृहजिल्लामा ‘ह्यूमिलेट’ भइन् समीक्षा : २३ जनाले मात्रै टिकट काटेपछि स्टेज प्रस्तुति रद्द


  • धनकुटा खबर
  • .

दाङ । नेपालमा अहिले सर्वाधिक चलेका गायिकामध्ये पर्छिन् समीक्षा अधिकारी । उनलाई हेर्न र सुन्न लालायित दर्शक/स्रोता देशभरि छन् । देश तथा विदेशका स्टेज शोमा उनको उच्च डिमान्ड छ । तर, उनै समीक्षा हालै दाङमा आयोजित एक कार्यक्रममा दर्शकबाटै उपेक्षित भएकी छन् । पर्याप्त दर्शक नआउँदा उनको निर्धारित कार्यक्रम नै रद्द गर्नुपर्‍यो ।

फागु पर्वको पूर्वसन्ध्यामा प्राकृतिक कलाकेन्द्र तुलसीपुरले अरनिको मैदानमा कन्सर्ट आयोजना गरेको थियो । हिजो (१० चैत) मा मुख्य आकर्षण थिइन् समीक्षा । आयोजकले राम्रै प्रचारप्रसार गरेका थिए । समीक्षा कन्सर्टमा प्रस्तुति दिन तुलसीपुर आएर मेट्रो होटेलमा बसिन् । दर्शकको घुइँचो लागेपछि स्टेज उक्लने आशामा होटलमै प्रतीक्षारत् थिइन् । कुर्दाकुर्दै बेलुकीको ५ बज्यो । तर, उनलाई आयोजकबाट स्टेज उक्लन फोन आएन ।

आयोजकले समीक्षालाई स्टेज उकाल्न नसक्नुको कारण थियो, दर्शक अभाव । जोडतोडका साथ समीक्षाको प्रचार गरिए पनि उनको प्रस्तुति हेर्न र सुन्न दंगाली दर्शक इच्छुक देखिएनन् । आयोजक प्राकृतिक कलाकेन्द्रका अध्यक्ष चोभार पौडेलका अनुसार समीक्षा आएको दिन जम्मा २३ वटामात्रै टिकट बिक्री भए ।

‘बेलुकी ५ बजेसम्म २३ वटामात्रै टिकट बिक्री भए,’ पौडेलले नेपाल प्रेससँग भने, ‘यति थोरै दर्शकमा कसरी गीत गाउन लगाउने भनेर स्टेजमा बोलाइएन ।’

आखिर किन समीक्षालाई हेर्न र सुन्न दाङका दर्शक अनिच्छुक बने त ? यसको कारण हो पलविरुद्धको मुद्दा । दाङ अभिनेता पल शाहको गृहजिल्ला हो । आफ्नो गृहजिल्लामा उनी निकै लोकप्रिय पनि छन् । समिक्षाले पललाई गलत मुद्दामा फसाएको भन्ने छाप दंगालीमा परेको छ ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले भने, ‘समीक्षा सहभागी कन्सर्टमा दर्शक नआउनु सोही मुद्दाको साइड इफेक्ट हो ।’

दर्शकमात्र होइन, उक्त कन्सर्टमा दाङका चलचित्र पत्रकारसमेत गएका थिएनन् ।समीक्षाले २०७८ सल फागुन ११ गते पलविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालतले पललाई जेल समेत पठाएको थियो । तर, उच्च अदालतमा समीक्षाले बयान फेरेपछि पलले सफाइ पाए । १ वर्ष जेल बसेर उनी निस्किएका थिए ।

जेलबाट निस्किएपश्चात पल दाङ आउँदा उनलाई हेर्न करिब १० हजार दंगाली दर्शकले एक हजार मूल्यको टिकट काटेका थिए । तर, समीक्षा आएको कन्सर्टमा एक सयको टिकट काट्न पनि दर्शक तयार नहुनुनुमा पलसँगको लफडा नै मुख्य कारण भएको स्वयम् आयोजक संस्थाका अध्यक्ष पौडेल बताउँछन् ।

‘पलसँगको लफडाकै कारण दंगाली दर्शकले उनलाई हेर्न नचाहेका हुन्,’ उनले भने ।प्रस्तुति दिन नपाएपछि समीक्षाले सम्झौताबमोजिमको पारिश्रमिक लिएर हिँडेकी छन् । – गणेश आचार्य/नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖