• Monday 5th of October 2026

भेरी नदीमा भेटिएको शव मेजर पण्डितको हो?


  • धनकुटा खबर
  • .

भेरी नदीमा एउटा शव फेला परेको छ। रूकुमपश्चिमतर्फ ठूली भेरीमा शव फेला परेकाे डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए।

उक्त शव भदौ १० गतेदेखि डोल्पाबाट बेपत्ता रहेका नेपाली सेनाका सेनानी (मेजर) विमल पण्डितको हुन सक्ने आशंका गरिएको छ।

सनाखत हुन बाँकी रहेकाले अधिकारीहरूले शवबारे धेरै बोल्न चाहेनन्।

प्रमुख जिल्ला अधिकारी पाेख्रेलले जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली शव भेटिएको स्थानतिर गएको पर्दाफासलाई बताए।

‘मेजर पण्डितको परिवारका सदस्य पनि आउनुभएको छ। प्रहरी टोली शव भेटिएको ठाउँतिर गएको छ,’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले पर्दाफाससँग भने, ‘भेटिएको शव उहाँ (मेजर पण्डित) कै हो कि भन्ने आशंका हो, सनाखत हुन बाँकी छ।’

नेपाली सेनाको डोल्पामा तैनाथ नन्द बक्स गणअन्तर्गत रहेको दुनै ब्यारेक, भदालेमा खटिएका मेजर पण्डित गत भदौ १० गते साँझदेखि बेपत्ता छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मेजर पण्डितको निरन्तर खोजी गरिरहे पनि हालसम्म उनको अवस्था अज्ञात छ।

यसअघि पनि उनको खोजीका क्रममा सुरक्षाकर्मीको टोलीले एक महिलाको बेवारिसे शव फेला पारेका थिए।

अहिले भेटिएको अर्को शव उनको हुन सक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली शव भेटिएको स्थानतर्फ गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले पर्दाफासलाई जानकारी दिए।

डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गणअन्तर्गत रहेको ब्यारेकमा खटिएका मेजर पण्डित सो दिन आफ्नो अंगरक्षक नलिई ब्यारेकबाट निस्किएका थिए।

उनको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट एक घण्टाको दूरीमा रहेको त्रिपुराकोट देखिएको थियो।

प्रहरीका अनुसार उनले उक्त दिन परिवारसँग फोन सम्पर्क र मोबाइल बैंकिङ सेवाबाट पैसाको कारोबार गरेको देखिएको छ।

पण्डित काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, डाँछी निवासी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖