• Wednesday 21st of October 2026

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीलाई बयानमा बोलाउँदै अख्तियार


  • धनकुटा खबर
  • .

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितता गरी निजी कम्पनीको नाममा दर्ता भएको प्रारम्भिक निष्कर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने तयारी गरेको छ ।

अख्तियारले शुरुमा विनोदसँगै उनका भाइ अरुण चौधरीसँग समेत बयान लिने गरी तयारी थालेको हो । ‘बाँसबारीको जग्गा गैरकानूनी ढंगले व्यक्ति (निजी कम्पनी)का नाममा दर्ता भएको र त्यो काममा बाँसबारीका तत्कालीन पदाधिकारी सहित चौधरी परिवारका कतिपयको भूमिका रहेको हाम्रो अनुसन्धानबाट देखियो, पत्र पठाउने योजना बनिसकेको छ’ अख्तियार उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यो साताभित्रमा हामीले उहाँलाई बोलाउने तयारी गरेका छौं । विनोद र अरुण चौधरीको शुरुमै बयान लिने योजना बनेको छ ।’

२०२२ सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा चौधरी समूहले आफ्नो नाममा ल्याएको थियो । चौधरी समूहले २०४२ सालमा खुलेको च्याम्पियन फुटवेयरले बाँसबारीको जग्गा आफ्नो नाममा सारेको थियो । च्याम्पियनले आफ्नो नाममा सारेको उक्त जग्गा चौधरी समूहकै चाँदवाग रेसिडेन्सीको नाममा छ ।

जग्गा अनियमितता प्रकरण सतहमा आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)का साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेका थिए ।

सीआईबीले केही महिना अघि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेर अदालतको आदेशबाट केही दिनमा छाडेको थियो ।

अनुसन्धानका क्रममा सीआईबीले गत चैत ८ गते व्यवसायी एवं कांग्रेस सांसद विनोद चौधरीलाई सरकारी वकिलको कार्यालयमा बयान लिएको थियो । लगत्तै उनी विदेश गएका थिए ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितताबारे अहिले पनि सीआईबी र अख्तियारले अनुसन्धान गरिरहेका छन् । सरकारी जग्गा अनियमितताको उजुरीमा सक्रिय हुनुपर्ने अख्तियार यो मामिलामा निष्कृय भएको भनी आलोचना हुने गरेको थियो ।

जग्गा च्याम्पियनको नाममा दर्ता हुँदा लुनकरण दास चौधरीले पत्नी गंगादेवी, छोराहरू विनोद कुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी र ज्वाइँ महेशकुमार अग्रवालका नाममा कम्पनी स्थापना गरेका थिए । त्यही कम्पनीले बाँसबारीको जग्गा आफ्नो नाममा ल्याएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖