• Monday 5th of October 2026

घाउ ठूलो भएकोले निको हुन केहि समय लाग्नेछ,पहिले भन्दा धेरै सहज भैसकेको छ : मुरारी गुरागाईं


  • धनकुटा खबर
  • .

शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंको घाँटीको क्यान्सरको शल्यक्रिया सफल भएको श्रीमान् मुरारी गुरागाईंले फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

नमस्कार 🙏।
जीवनमा कल्पना नगरेको कठिन परिस्थितिसँग जुधिरहेको बेला हजुरहरूको अपार माया सद्भाव र सहयोग पाएकोमा भावविभोर हुँदै हाम्रा सबै दुःख बिर्सिएर यहाँहरूप्रति नतमस्तक छौँ ।संसारभरबाट सरूको स्वास्थ्यलाभको लागि व्यक्त गर्नुभएको शुभकामना र प्रार्थनाले हामीलाई यो कठिन परिस्थितिबाट निस्कने शक्ति प्रदान गरेको छ । भनिन्छ, प्रार्थनामा शक्ति हुन्छ । यहाँहरूले हामीलाई यति धेरै ऋण लगाउनुभयो कि हामी यो जुनीमा त तिर्न सक्दैनौँ होला तर तिर्ने कोशिस गरिरहनेछौँ। सबभन्दा धेरै त भावनात्मक सहयोगको ऋणी छौँ। संसारभरीबाट यति धेरै चिन्ता भयो कि केहि दिन सम्म त हामीले कसैसित सम्पर्क नै गर्न कठिनाई भयो। लाखौँ कलहरू थिए। धेरै जिज्ञासाहरू थिए जसको उत्तर हामीसँग पनि थिएन। सुभेच्छा व्यक्त गर्न , सरूको स्वास्थ्यलाभको कामना गर्न , आशीर्वाद दिन यहाँहरूले धेरै फोन, मेसेज तथा सामाजिक सञ्जालमा सम्पर्क गर्न कोशिश गर्नुभएको थियो, सबैसँग कुरागर्ने मन भएर पनि मैले बेफुर्सदीको कारण उत्तर दिन नसकेको परिस्थिति बुझिदिनुभएकोमा पनि हजुरहरू धन्यवादको पात्र हुनुहुन्छ ।अझै पनि हामीसँग सबै प्रश्नहरूको उत्तर छैन। बिस्तारमा आउने नै छन्।

सरूको घाँटी वरिपरी र थाईरोईड मा भएको क्यान्सरको टिस्युहरू शल्यक्रिया मार्फत झिकिएको छ। घाँटीमा लगभग एक बित्ता लामो चोट छ जहाँबाट त्यहाँ भएका लिम्फ नोडहरू सहित ट्यूमर निकालिएको थियो। घाउ ठूलो भएकोले निको हुन केहि समय लाग्नेछ। पहिले भन्दा धेरै सहज भैसकेको छ। खान बोल्न सामान्यतया समस्या छैन। बाँकी उपचार के कस्तो हु्न्छ यो सबै आउने दिनमा थाहा हुनेछ।

हामीले यो असहज परिस्थितिलाई थोरै सहयोग हुन्छ कि भनेर सञ्चालन गरेको गोफन्डमीमा सोचेभन्दा धेरै शुभचिन्तकले दिनुभएको आशीर्वादले पक्कै पनि सहज बनाउनेछ। भविष्यमा फेरि कहिल्यै पनि यस्तो सहयोग को लागि अनुरोध गर्नुपर्ने परिस्थिति नबनोस् भन्ने भगवानसित प्रार्थना गर्छु ।
यहाँहरूले हामीप्रति दर्शाउनुभएको अपार माया र सद्भावको निम्ति पुनः धन्यवाद ज्ञापन गर्दै अहिलेको यो गोफन्डमी अबको केही समय पछि बन्द गर्ने जानकारी गराउँछु ।
पुनः यहाँहरू सबैप्रति आभारी छौं। अनुग्रहीत छौं।
हार्दिक धन्यवाद 🙏🙏।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖