• Monday 5th of October 2026

आफैले काम गर्ने घरको १६ तोला सुनका गरगहना चोरी गर्ने युवतीसहित दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले सुनका गरगहना चोरी गर्ने एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट अन्दाजी १६ तोला बराबरको सुनका गरगहना चोरी गर्ने सोही घरकी कामदार पर्सा जिल्ला पर्सागढी नगरपालिका -२ स्थायी घर भएकी २२ वर्षीया शिवदेवी चौधरी र मोवाइल पसलका संचालकलाई पक्राउ गरेको छ ।

सोमबार अन्दाजी १ बजे उक्त घरको कोठाबाट सुनका गरगहना चोरी भएको भन्दै पीडितले दिएको उजूरीको आधारमा वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले गरेको अनुसन्धान पश्चात सोही घरको कामदारको रूपमा रहेकी चौधरीलाई पक्राउ गरेको थियो। पक्राउ पश्चात चौधरीसँग प्रारम्भिक बयान लिने क्रममा उनले पोखरा -१० बुद्धचोक स्थित एक मोवाइल पसलमा गरगहना लुकाउन दिएको खुल्न आएपछि प्रहरीले मोवाइल पसलका संचालकलाई पनि पक्राउ गरेको हो।

हाल पक्राउ परेका उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖