• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताएका छन् । शनिवार त्रिविमा वेस्ट इण्डिज ‘ए’ विरुद्ध कप्तानी इनिङ खेल्दै जित दिलाएपछि पत्रकार सम्मेलनमा रोहितले सो धारणा राखेका हुन् ।

सबै खेलाडीमा राम्रो क्षमता देखिएको र सबैमा रिप्लेसमेन्ट गर्नसक्ने क्षमता रहेको रोहितले उल्लेख गरे । त्यसैले ट्वान्टी–२० विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न चुनौती हुने उनको विश्वास छ । उनले क्षमतावान खेलाडी धेरै रहेको उल्लेख गर्दै समग्रमा सबैको प्रदर्शन राम्रो रहेको धारणा पनि राखे । तर आउने दिनमा जसले राम्रो गर्नसक्छ त्यहाँबाट उत्कृष्ट १५ खेलाडी विश्वकपका लागि छनोट हुने कप्तान रोहितको विश्वास छ ।

आगामी १/२ खेलमा नै विश्वकपका लागि सबैको भूमिका तय हुने पनि रोहितले बताए। उनले शतकीय इनिङ्स खेल्छु नै भन्ने योजनामा नरहेको पनि उल्लेख गरे । आफूले बलमा ध्यान दिँदै सोहीअनुरूप ब्याटिङ गरेको उनको भनाइ छ । तर रोहितले सोचेअनुरूप ब्याटिङ भएको बताए । उनले आज आफ्नो दिन थियो जस्तो लागेको पनि उल्लेख गरे। कप्तान रोहितले प्रशिक्षक मोन्टी देसाईसँग एउटा खेलाडीले राम्रो गर्नसक्यो भने टोलीमा आत्मविश्वास बढ्छ भन्ने छलफल हुने गरेको बताए । त्यसैले यो इनिङ्सले टोलीमा आत्मविश्वास बढ्ने उनले आशा व्यक्त गरे ।

उनले भने, ‘ओमानसँगको खेलबाट निराश थियौँ । त्यहाँबाट अगाडि बढ्न आवश्यक थियो । त्यो खराब दिन सोचेको भए आजको प्रदर्शन सम्भव थिएन । सबैले आ आफ्नो जिम्मेवारीअनुरूपमा गरेँ । त्रिवि २०० सयको रन चेज गर्न सकिन्छ भन्ने थियो, त्यही अनुरूप खेल्यौँ । यो लक्ष्य पूरा भएपछि पनि सेलिब्रेट गर्छु भन्ने थियो । त्यसैले शतक हाने पनि सेलिब्रेट गरिनँ । त्यो पूरा हुन सकेन ।’

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले ओमान भ्रमण आशातीत प्रदर्शन गर्न नसकिएको उल्लेख गर्दै त्यसको जिम्मेवारी आफूले लिने बताए। तर आज रोहितले राम्रो प्रदर्शन गरेको प्रशिक्षक मोन्टीले बताए ।

पछिल्लो १५ महिनामा रोहितको उत्कृष्टमध्ये एक प्रदर्शन गरेको प्रशिक्षकको बुझाइ छ । उनले एउटा खेलबाट कोही पनि राम्रो र नराम्रो भन्न नसकिने पनि स्पष्ट पारे । प्रशिक्षक मोन्टीले वेस्ट इन्डिजसँगको यो खेलले नेपाली टोलीमा आत्मविश्वास बढाउने आशा व्यक्त गरे।

वेस्ट इन्डिजका प्रशिक्षक फ्लोयड रेइफरले आजको खेलमा राम्रो गर्न नसके पनि आगामी खेलमा राम्रो गर्न आशा व्यक्त गरे । आफ्नो टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖